धरान : धरानको सेउती खोलाबाट ढुङ्गा, गिट्टी उत्खननको विवाद चलिरहेको बेला कोरोना संक्रमितनै उत्खननमा संलग्न हुँदा पनि उपमहानगरले स्थानीय समुदायको स्वास्थ्यलाई बेवास्ता गरेको पाइएको छ ।

पाथीभरा निमार्ण सेवाका कोरोना सङ्क्रमित ठेकेदार अर्जुन भण्डारी कोरोना सङ्क्रमित भएर खोला आएकाले गाउँमा जोखिम बढेको स्थानीय समुदायले आरोप लगाएर उनको पिसिआर परीक्षणको माग गरेका थिए ।

भण्डारी सँग फोन सम्पर्क गर्दा आफ्नो रिपोर्ट कोरोना पोजेटिभ आएको स्वीकार गर्दै आफू १० दिन पछि खोलामा गएको बताए । उनका अनुसार कम्पनीको लेखापाल पनि कोरोना सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार सङ्क्रमितले १४ दिन होम क्यारेन्टाइनमा बस्नु पर्छ ।

तर उनी कोरोना सङ्क्रमित भएर पनि थुप्रै मानिसको जमघट हुने स्थानमा उपस्थित भए । उनलाई सङ्क्रमण भएको थाहा पाए पछि स्थानीयले विरोध गरे पछि र स्वास्थ्य महाशाखाले सङ्क्रमण मुक्त भएर मात्र नियमित काममा निस्किनु भने पछि उनी १३ गते देखि होम आइसोलेसनमा बसेको बताइएको छ ।

स्थानीहरूले ‘कोरोना भएको ठेकेदार खोलामा दैनिक आएको र क्लोज कन्ट्याकमा भएका अरूलाई पनि परीक्षण गर्नुपर्छ । नगराएका गाउँलेलाई कोरोना सर्ने खतरा भएको बताए । खोलामा बढी भिडभाड भयो र कोरोना सङ्क्रमितहरू खुल्ला काममा लागेको बारेमा नगरपालिका र प्रहरीलाई पटक पटक जानकारी गराउँदा ‘उल्टो १४३ जना रिट हाल्न जाँदा हुन्छ’ भिडभाड भयो रे..... भन्दै ठाडो जवाफ मेयरले दिएको स्थानीयले बताए ।

Khola-Thekkedar

अहिले दैनिक एक सय बढी ट्रिपर, ट्र्याक्टर खोला किनार आसपासमा गिट्टी, ढुङ्गा, बालुवा, मिक्स गिट्टी ओसारी रहेका छन् । सबै काममा करिब दुई सय बढी सङ्ख्यामा कामदारहरू संलग्न छन् । सङ्क्रमितहरू नै काममा संलग्न भएकाले कोरोना गाउँमा फैलने स्थानीयमा चिन्ता बढ्दै गएको छ ।

उपमहानगरपालिका विपद् तथा वातावरण प्रमुख भेषराज घिमिरेका अनुसार सेउती खोलामा ढुङ्गा गिट्टीको ठेक्का पाथीभरा निमार्ण सेवा कम्पनी इटहरीले पाएको छ ।

जेठ महिना भित्र उत्खनन गरी सक्नु पर्ने भएकोले खोलामा बढी भन्दा बढी कामदार र सवारी साधनको भीड भएको हो । कम्पनीले धरानको सर्दु, सेहरा र सेउती गरी कुल ४ करोड ९१ लाखमा ठेक्का लिएको छ ।