इनरुवा : सुनसरी सदरमुकाम इनरुवा स्थित इनरुवा अस्पतालको आकस्मिक कक्षमा बनाएको इनरुवा कोभिड अस्पतालको सोमबार विधिवत् उद्घाटन भएको छ ।

इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले इनरुवा अस्पतालको आकस्मिक कक्षको २० बेडको इनरुवा कोभिड अस्पताल बनाई एक कार्यक्रमको बिच विधिवत् रूपमा उद्घाटन गरेका हुन ।

नयाँ भेरिएन्ट सहितको दोस्रो चरणको कोभिड१९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याउने उद्देश्यले कोरोना सङ्क्रमित बिरामीहरू अन्यत्र जानु नपरोस् साथै सहज सुलभ तरिकाले कोभिड अस्पतालबाट सेवा पाउने बताइएको छ । मंगलबार देखि मात्र बिरामीहरूलाई अस्पतालमा भर्ना गरी सेवा प्रवाह गरिनेछ ।

इनरुवाका नगर प्रमुख मेहताका अनुसार इनरुवा कोभिड अस्पतालबाट इनरुवा नगर क्षेत्र लगायतका आसपासका कोभिडका बिरामीहरूका लागि उपचार गर्ने गरी सञ्चालनमा ल्याएको हो ।

अस्पताल सञ्चालनका लागि अस्पताल व्यवस्थापन समिति, इनरुवा अस्पताल स्वास्थ्य कार्यालय सुनसरी, इनरुवा नगरपालिकाको संयुक्त प्रयास र सहयोगमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । उनले भने ‘मेरो व्यक्तिगत, दर्जा, अहोदा, क्षमता र नगरपालिकाले भ्याएसम्म कोभिड अस्पताललाई सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ, डाक्टर पूजा दास, अस्पताल समितिका अध्यक्ष गोपालराज भण्डारी, सदस्य रामप्रसाद मेहेता, तोया गिरी लगायतको उपस्थिति रहेको थियो।

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपालराज भण्डारीले धेरै प्रयास र पहलबाट जिल्ला अस्पताल इनरुवामा कोभिड अस्पताल सञ्चालनमा ल्याउन सफल भएको बताए ।

कोभिड अस्पतालबाट प्रभावकारी सेवा प्रवाह गर्न चिकित्सकहरूलाई अनुरोध गर्दै सबैको सहयोगबाट कोभिड अस्पतालको उद्घाटन भएकोले कोभिडका बिरामीहरूलाई उपचार सुरु हुने बताए ।

उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्र साहले कोभिड अस्पतालमा उपचार गर्न आउने कोभिडका बिरामीहरूलाई निःशुल्क खाना खुवाउने प्रतिबद्धता जाहेर गरे ।

कोभिड अस्पताल इनरुवामा सेवा लिन आउने कोभिडका बिरामीहरूलाई उद्योग वाणिज्य सङ्घ इनरुवाको तर्फबाट कोभिड अस्पताल इनरुवामा काम गर्ने र बिरामीहरूलाई निःशुल्क खाना खुवाउने जानकारी दिए ।

उक्त कोभिड अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमित बिरामीहरूले विज्ञ डाक्टर सहितको अक्सिजन, आइसियु, भेन्टिलेटर लगायतको सेवा लिन सक्ने जनाइएको छ ।