धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा चरम लापरबाही बढेको छ।

उपचारको लागि भर्ना भएकी एक महिलाको सोमबार लडेर मृत्यु भएको बिरामीका आफन्तलाई जानकारी दिए पछि प्रतिष्ठानको कोभिड अस्पतालमा चरम लापरबाही रहेको पुष्टि भएको हो। जबकि अस्पतालमा बिरामी भएर उपचार गर्न भनेर भर्ना भएको बिरामी अस्पताल भित्रै बेडबाट लडेर मृत्यु हुनु भनेको कोभिड अस्पताल भित्र अत्यन्त चरम लापरबाही बढेको सहजै अनुमान लगाउन सकिन्छ।

सामान्य अवस्थामा बीपीको इमरजेन्सीमा ज्येष्ठ ११ गते भर्ना भएकी सिराहा गोलबजार-७ की ५५ बर्षीया महिलाको अस्पतालको बेडबाट लडेर मृत्यु भएको कोभिड अस्पतालका चिकित्सकले बिरामीको आफन्त कुरुवालाई ब्रिफिङ गर्नेक्रममा जानकारी गराएको मृतकका ज्वाइँ धन नारायण श्रेष्ठले बताए ।

उनले टेलिफोन सम्पर्कमा भने :'सुगरले च्यापेपछि सासुआमालाई जनकपुर अस्पताल लगिएको थियो । त्यहाँबाट बीपीमा रेफर गरेपछि ११ गते बीपीमा ल्याइएको हो । जनकपुरमा कोरोना रिपोर्ट नेगेटिभ थियो।' तर यहाँ इमरजेन्सीमा उपचारको क्रममा १३ गते कोरोना पोजेटिभ रिपोर्ट आएको र १४ गते कोभिड अस्पतालमा भर्ना गरिएको श्रेष्ठले बताए । 

सोमबार दिउँसो २ बजे ब्रिफिङको क्रममा डाक्टरहरूले सासुआमा बेडबाट लडेको जानकारी गराएको र साढे ३ बजे तिर पुनः ब्रिफिङमा लडेर नाक र निधार फुटेकोले आइसले सेकिरहेको भन्दै जानकारी दिएको ज्वाइँ श्रेष्ठले बताए ।

सोमबार राती करिब साँढे ७ बजेतिर अस्पतालले सासु आमाको मृत्यु भएको जानकारी दियो । उनले भने–अस्पतालले उपचारमा चरम लापरबाही गरेको भन्दै छानबिन हुनुपर्ने माग गरेका छन् । सामान्य अवस्थामा भर्ना भएकी आमा कसरी बेडबाट लडेर गम्भीर घाइते भइन् ? भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ आफूले नपाए सम्म शव नबुझ्ने बताए  ।

दिउसो सम्म बिरामीको अवस्था सामान्य छ चिकित्सकले भनेका थिए । निकै ठिक भइसकेका थिए । खानेकुरा खान दिनु परो भनेर नर्सलाई भन्दा नर्सले गैर जिम्मेवार जवाफ दिँदै मैले औषधी खुवाउने हो खानेकुरा होइन भन्दै झर्किएको श्रेष्ठले बताए । 

नेपाली सेनाको क्याप्टेन रहेका श्रेष्ठले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने, सि सी टिभी फुटेज हेर्न पाउनु पर्ने र कसरी बिरामी बेडबाट लडे ? अनि उपचार कसरी भयो ? भनेर हेरेर छानबिन गरेपछि मात्रै शव नबुझ्ने बताएका छन् ।

मंगलबार बिहान पत्रकार सम्मेलन गरेर घटनाको जानकारी दिने पनि बताए । घटनाको बारेमा प्रतिष्ठानका प्रवक्ता डा. चूडामणि पोखरेललाई टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।