धरान : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकालागि जारी गरेको निषेधाज्ञा कार्यान्वयन नगर्ने दुई जना होटेल सञ्चालक र छ जना ग्राहकलाई प्रशासनले कारबाही गरेको छ।

१६ गते राती ८ बजे लुकीछिपी होटेल सञ्चालन गर्ने तथा होटेलमा मादक पदार्थ सेवन गर्ने ग्राहकलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले पक्राउ गरी कारबाही गरेको गरेर छाडेको हो।

इटहरी-९ बस्ने होटेल सञ्चालक ३१ वर्षीय ओम प्रकाश थापा र ५१ वर्षीय बाबु घिमिरेलाई जनही ७ हजार जरिवाना गरिएको प्रशासनले जनाएको छ।

होटेलमा मादक पदार्थ सेवन गर्ने इटहरीका २५ वर्षीय राहुल चौधरी, २३ वर्षीय रोहन साह, ३६ वर्षीय समय वाक, २८ वर्षीय सुनिल दुलही, ४९ वर्षीय मनोज सिंह र ३६ वर्षीय लालटु दासलाई ३ हजारका दरले जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ ।

होटेलमा ग्राहक भेला भई भिडभाड गरी निषेधाज्ञाको उल्लङ्घन गरेको अवस्थामा फेला पारी “कोभिड-१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८” को परिच्छेद ५ को दफा २१ (१.क) बमोजिम कारबाही स्वरूप जरिवाना गरिएको प्रशासनका कर्मचारी नायक सुब्बा दिलीप सुवेदीले बताए ।