इटहरी : सुन्दरहरैंचामा लकडाउनको समयमा छाक टार्नै धौधौ पर्ने गरिबको घरमै पुगेर तरुण दलले राहत वितरण कार्य सुरु गरेको छ । 'गरिबका घरमा तरुण दल' अभियान लिएर १ साता देखी तरुण दल सुन्दरहरैंचा नगर समितिले राहत वितरण कार्यक्रम सुरु गरेको हो।

नगर अध्यक्ष मिलन श्रेष्ठका अनुसार सुरुमा सङ्क्रमित परिवारको घरमा स्यानिटाइजर छर्कने कामबाट अभियान अगाडी बढेको हो । सङ्क्रमण अन्यत्र फैलिन नपाओस् भनेर सेनिटाईज गर्ने कामको थालनी गरिएको हो । सोही क्रममा विपन्न परिवार लाही छाक टार्नै समस्या भएको भेटिएको उनले बताए।

कतिपय घरमा दिनमा एक पटक पनि राम्रो खान नपाउने अवस्था भेटिएपछि ‘गरिबका घरमा तरुण दल’ अभियान सुरु गरिएको उनको भनाई छ। अहिले प्रत्येक वडामा नमुना गरिब परिवारको अवस्था हेरी राहत वितरणको कामलाई तीव्रता दिइएको श्रेष्ठले जानकारी दिए ।

“प्रत्येक वाडमा तरुण दलका प्रतिनिधि खटिएका छन् । राहत वितरण देखी सेनिटाईजर छर्कने काम उनिहरुले नै गरिरहेका छन् । अहिलेसम्म ८ सय परिवारको घरमा खाद्यान्न पुगीस्क्यो । अरुपनि धेरै विपन्नहरू राहतको पर्खाइमा रहेको हामीले जानकारी पाएका छौ । केही दिनमै सबैतिर राहत पुर्‍याउँछौ,” उनले भने ।

उनका अनुसार विभिन्न व्यक्ती तथा संस्थाको स्वतःस्फूर्त सहयोगमा अभियान सहज बन्दै गएको हो । यही बिचमा दिनरात खटिने सुरक्षाकर्मीलाई जोगाउनको लागी सुन्दरहरैचाका सबै चेकपोष्ट तथा प्रहरी चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको श्रेष्ठले बताए ।

तरुण दलले अस्पतालमा रगतको अभाव चरम भएको बुझेपछि यही जेठ २२ गते शनिवार ब्लड डोनेसन कार्यक्रम तय गरेको छ ।

tarun-dal-sundar-haraicha