बराहक्षेत्र : कोरोना सङ्क्रमणको जोखिम बढेको बराहक्षेत्रमा नेपाली काँग्रेस कार्यकर्ताहरू सङ्क्रमितहरूलाई हौसला प्रदान एवम् सहयोगमा जुटेका छन्। उनीहरू १७ दिन देखि सुरक्षा सतर्कता सहित सङ्क्रमितका घर-घरमा पुगेर सेनिटाइज गर्ने गर्दै छन् ।

राज्यको साधन, स्रोत भएको निकायहरूले सङ्क्रमण नियन्त्रण गर्ने अभियानमा पर्याप्त काम गर्न नसकेको जनगुनासो भइराख्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वराहक्षेत्रका नेताहरू समिति नै बनाएर अभियानमा सक्रियताका साथ लागिपरेका छन् ।

बराहक्षेत्र काँग्रेसको कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिले १७ दिन देखि नगरका सङ्क्रमितको घरघर पुगेर भावनात्मक निकटता बढाउने काम गर्दै आएको छ ।

यो अभियानले हालसम्म वराहक्षेत्र नगरपालिकाका वडा नं १ देखि ११ वडामा रहेका सङ्क्रमितको घरहरू सेनिटाइज गर्ने, सङ्क्रमितलाई पौष्टिक तत्त्व, स्वास्थ्य सामग्री, हौसला बढाउने काम गरिरहेको छ। साथै नगरभित्रका सार्वजनिक स्थल, प्रहरी चौकी, स्वास्थ्य चौकीलाई सेनिटाइज गरिएको छ भने बुधवार पूर्ण दोस्रो पटक वराहक्षेत्र ६ र ७ का थप सङ्क्रमितको घरमा पुगेर सेनिटाइज गरिएको समितिले जानकारी दिएको छ ।

समितिका संयोजक रमेश कार्कीका अनुसार समुदाय स्तरमा फैलिएको महामारीलाई नियन्त्रण गर्न अरूको मुख ताक्ने हो भने समुदायमा सङ्क्रमण झनै फैलने खतरा रहेकोले पार्टी आफै सक्रिय भएर लागिपरेको बताए । उनले स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि ठोस कार्य नगरेकाले पनि काँग्रेस आफै अभियानमा उत्रनु परेको जानकारी दिए ।

कार्कीले भने ‘स्थानीय सरकार गैरजिम्मेवार भयो, गाउँ घर सङ्क्रमणको मारमा परेकालाई सहयोग गर्ने र सङ्क्रमण फैलन नदिन सुरक्षाका कामहरू गरिरहेका छौँ ।’

काँग्रेसले १ देखि ११ नम्बर वडामा रहेका सङ्क्रमितहरूको घरमा पुगेर सेनिटाइज गर्ने, सङ्क्रमित र उनीहरूका परिवारलाई हौसला प्रदान गर्ने कार्य गरेको अभियानकी सदस्य नेपाली काँग्रेस महासमिति सदस्य अनु गुरुङले बताइन ।

नेपाली काँग्रेस किरात राई सङ्घ सुनसरी सभापति सन्तकुमार राईले महामारीलाई नियन्त्रण गर्न स्थानीय सरकारले कुनै किसिमको कार्यक्रम अगाडि नसारेको बताए । हालसम्म वराहक्षेत्र नगरपालिकामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ । त्यसैगरी, २ सय ५८ जना भन्दा बढी सङ्क्रमित भएकामा ४१ जना सङ्क्रमण मुक्त भइसकेका छन् । काँग्रेसले निःशुल्क एम्बुलेन्स समेतको व्यवस्था गरेको छ।

सङ्क्रमितलाई उपचारका लागि एम्बुलेन्स चाहिएमा अभियानका संयोजक रमेश कार्की ९८०४३२०२९७० र सदस्य सन्तकुमार राई ९९८२७०४२५०८० लाई सम्पर्क गर्न समेत समितिले आग्रह गरेको छ ।

baraha-congress-ghara-ghar-