सुनसरी : इनरुवा–३ बाट सक्रिय एक समाजिक समूहले बेवारिसे अवस्थामा फेला पारेको एक बांगलादेशी वृद्ध महिलालाई आफन्त सम्म पुर्‍याउने तयारी गरी रहेको छ ।

किशोर किशोरीको क्षेत्रमा कार्यरत इनरुवाकी अल्बिना प्रवीण नेतृत्वको समूहले पाँच दिन अघि इनरुवा–३ बाट बेवारिसे अवस्थामा बृद्धालाई फेला पारी उद्धार गरी इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेललाई जिम्मा दिएपछि हाल इनरुवा अस्पतालको सेफ हाउसमा रहेकी ती बृद्धा बांगलादेशी नागरिक रहेको प्रारम्भिक छानबिनको क्रममा फेला परेपछि उनको उद्धारको निम्ति नेपाल स्थित बांगलादेशी राजदूतावासलाई गुहारिएको छ ।

उपप्रमुख पोखरेलको पहलमा बांगलादेशी राजदूतावासबाट आएको टोलीले ती बृद्धाको वास्तविक पहिचान गरेपछि उनको स्वदेश फिर्तीको सम्भावना बढेको छ ।

नेपाल स्थित बांगलादेश राजदूतावासका फस्ट सेक्रेटरी कन्सुलर मोहम्मद मसउद आलमको नेतृत्वमा इनरुवा नगरपालिका आइपुगेको सो टोलीलाई इनरुवा नगरपालिकाकी उपप्रमुख पोखरेलले स्वागत गरेकी छिन् ।

सो टोलीले बृद्धासँग एक घण्टा प्रारम्भिक सोधपुछ गरेपछि उनी बांगलादेशी नागरिक रहेको कन्सुलर मोहम्मदले पुष्टि गरेका छन् । कन्सुलर मोहम्मदले बृद्धालाई बांगलादेश लैजानका निम्ति आफूहरू प्रारम्भिक कामको सुरुवात तत्काल थाल्ने बताए ।

उनले आफ्नो मुलुकको नागरिकको उद्धारप्रति देखाएको सहानुभूतिका लागि इनरुवा नगरपालिका, उपप्रमुख र किशोर किशोरी समूहलाई धन्यवाद समेत दिएका थिए ।