धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति, विकृति र विसङ्गतिको बारेमा बुधवार धरानमा राजनीतिक दल र नागरिक समाजले छलफल गरेका छन् ।

कोरोना महामारीको बेलामा बिषेशगरी कोभिड अस्पतालमा हुने लापरबाही र बेथितिको बारेमा व्यापक जनगुनासो आएकोले धरानका राजनीतिक दलहरू र नागरिक समाजको ध्यान आकृष्ट भएकोले प्रतिष्ठानको सेवा सुविधाहरू प्रवाह गर्न के के कामहरू नागरिक तहबाट गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको हो ।

सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा भएको छलफलले बीपीको बेथितिको बारेमा धरान नगर सरकार समेतको उपस्थितिमा तत्काल बृहत् बैठक बसी प्रतिष्ठानको अवधारणा समेत र्निक्यौल गर्न आवश्यक रहेको निर्णय गरेको छ । त्यसका लागि स्थानीय सरकार, नागरिक सञ्जाल, धरानका सम्पूर्ण राजनीतिक दलहरूको संयुक्त बैठक नबसुन्जेल सम्मका लागि नागरिक सञ्जालका प्रा.डा. राजेन्द्र शर्माले समन्वय गर्ने निर्णय भएको छ ।

सो बैठकमा अवधारणा पत्र समेत सञ्जालले तयार गर्ने निर्णय भएको छ । नागरिक सञ्जालमा पूर्व नगरप्रमुख मनोज मेन्याङ्बो, हरिप्रसाद दाहाल, गौरीशङ्कर अग्रवाल, हर्ष सुब्बा, भवानी बराल र चेतना श्रेङ रहेका छन् ।

Nirnaya-1 Nirnaya-2