इटहरी : ताप्लेजुङको एक मात्र विमानस्थल सुकेटारको नाम परिवर्तन गरी रवीन्द्र अधिकारी विमानस्थल राख्न खोजिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायले पहिचान मेटिने गरी नाम परिवर्तन गर्न नपाइने बताएका हुन् ।

ताप्लेजुङ सुनसरी सरोकार समाजले नाम परिवर्तन नगर्न भन्दै ध्यानाकर्षण पत्र पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई सुकेटार विमानस्थलको नाम परिवर्तन नगर्न आग्रह गर्दै ध्यानाकर्षण गराएको हो ।

जेठ १५ गते प्रस्तुत बजेटको ३५६ बुँदामा ताप्लेजुङका जनताको भावना विपरीतको निर्णय परेको हुँदा सच्याइनुपर्ने माग गरिएको छ । जनताको भावना नबुझी एकतर्फ सांस्कृतिक, ऐतिहासिक र मौलिक अस्मिता माथि नै प्रहार गर्ने काम भएको हुँदा उक्त निर्णय फिर्ता लिन माग गरिएको हो ।

त्यससँगै ताप्लेजुङका स्थानीय जनप्रतिनिधि तथा राजनैतिक दलहरूले समेत विरोध जनाइरहेका छन् । ओली समूह बाहेक सम्पूर्ण राजनैतिक पार्टी र तिनका भातृसंगठनहरु ऐतिहासिक पहिचानको नाम मेटाउने षड्यन्त्र भएको भन्दै विरोधमा उत्रिएका हुन् । फुङ्लीङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले समेत नाम परिवर्तनको पुनर्विचार गर्न आग्रह गरेका छन् । ओली निकट मानिएका प्याकुरेल स्थानीयको दबाबमा पुरानै नाममा सहमति जनाउन बाध्य भएका छन् ।

नगर कार्यपालिकाको छलफल बाट निर्णय नै गरेर नाम परिवर्तन नगर्न अनुरोध गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्र पठाउँदै नगरपालिकाले नाम परिवर्तन नगर्न आग्रह गरेको छ । स्वर्गीय अधिकारीको सम्झनामा पार्क निर्माण गर्न लागिएकोले विमानस्थलमा भन्दा पनि पार्क निर्माणमा बजेट छुट्याएर सहयोग गरिदिन अनुरोध गरेको छ । मेयर प्याकुरेलले हस्ताक्षर गरेको पत्रमा राजधानी र जिल्ला जोड्ने ऐतिहासिक क्षेत्र जिल्लावासीको भावना सँग जोडिएको विषय भएकोले त्यसमा कुनै पनि फेरबदल नगर्न अनुरोध गरिएको छ ।

यस अघि नै ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व पर्यटन मन्त्री योगेश भट्टराईलेनै नाम परिवर्तन नगर्न दबाब दिएका छन् । उनले भनेका छन्, “त्यसको आवश्यकता र औचित्य, सान्दर्भिकता र परिणाम बारेमा स्थानीय सरोकारवाला तथा जनप्रतिनिधि सँग सहमति लिन जरुरी छ । यसले मात्र सहभागिता मूलक लोकतन्त्र बलियो हुन्छ ।” स्थानीय सरोकारको विषयमा केन्द्रीय स्तरबाट हस्तक्षेप गर्न नहुने उनको तर्क छ ।

यसै गरी सङ्घीय लिम्बूवान मञ्च नेपालले पनि नाम फेर्ने सरकारको कदम प्रति कडा आपत्ति जनाएको छ । विमानस्थल तथा ऐतिहासिक रङ्गशालाको नाम फेर्ने कार्य ले आदिबासीहरुको पहिचान समाप्त गर्न सरकार उ्दत भएको देखिएको विज्ञप्तिमा उल्लेख गरिएका छ ।

०७५ साल फाल्गुन १५ गते बुधवार ताप्लेजुङको फुङलिङ नगरपालिका फुरुम्बुको दारेढुङ्गामा ठोकीएर भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको ज्यान गएको थियो ।

सोही दुर्घटनामा अधिकारीका अङ्गरक्षक अर्जुनकुमार घिमिरे, नागरिक उड्डयन प्राधिकरणका उपमहा निर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको ज्यान गएको थियो ।

सरकारले भने सुकेटार विमानस्थल अधिकारीको नाममा राख्ने र तेह्रथुमको आठराईमा निर्माणाधीन विमानस्थल यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पाको नाममा राख्ने योजना बनाएको छ ।

suketar-3

suketar-2