इटहरी : प्रदेश १ सरकारले यही जेठ २४ गते सोमबार दिन बजेट तथा बर्खे अधिवेशन बोलाउने निर्णय गरेको छ ।

जेठ २० गते बिहीबार बिहान ८ बजे बसेको मन्त्रीपरिषद् बैठकले बजेट नीति तथा कार्यक्रम माथि छलफल गर्ने गरी अधिवेशन बोलाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बर्खे अधिवेशन बोलाउने निर्णय गरेर प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको बताए । प्रतिपक्षी दलहरूको तीव्र विरोधका बाबजुद प्रदेश सरकारले सांसदबाटै बजेट ल्याउने तयारी थालेको छ ।

बुधवार मात्र सरकारले आर्थिक कार्यविधि ऐन संशोधन विधेयक प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । कार्यविधि ऐन २०७४ को दफा ९ अनुसार बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अगाडी अधिवेशन बोलाउनुपर्ने बाध्यात्मक अवस्था छ । त्यसलाई संशोधन गरेर सरकारले ५ दिनको समय सीमा कायम गराएको हो ।