धरान : मोरङको केराबारी गाउँपालिका-३ का ३२ वर्षीय हस्त बहादुर राईको हत्यामा संलग्न रहेका ४ जना ४ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

गत वैशाख ८ गते मृतक राई सहित १० जनाको समूहमा स्थानीय बाँस घारी खोप सरकारी राष्ट्रिय वनमा सिकार खेल्न गएकोमा समूहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो। घटनाको जानकारी पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेका मध्ये रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई वैशाख ९ गते नै १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको थियो ।

उक्त घटनामा संलग्न रहेका अन्य अभियुक्तहरूको खोजतलास भइरहेकोमा ज्येष्ठ १९ गते केराबारी गाउँपालिका.-३ का ४४ वर्षीय डिक बहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बु, १९ वर्षीय राम प्रसाद राई र लेटाङ नगरपालिका-१ का १९ वर्षीय विपन लिम्बु पक्राउ परेका हुन् ।

उनीहरू पक्राउ परेसँगै थप अनुसन्धान गर्ने क्रममा घटनामा प्रयोग भई उनीहरूले जङ्गलको ओढार मुनी लुकाई छिपाई राखेको ४ थान भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।