इटहरी : इटहरी उपमहानगरपालिकाले बिना कारण पसल बन्द गराउँदै हिँडेको भन्दै औषधी व्यवसायीहरु आन्दोलित भएका छन् ।

बुधवार उपमहानगरपालिकाको अनुगमन टोलीले 'औषधीको खोलमा फरक स्टिकर टाँसेको' भन्दै पसल बन्द गराएपछि उनी आन्दोलित भएका हुन् ।

बजार अनुगमनको क्रममा सनलाईट डी थ्री नामक औषधीको खोलमा भित्रको औषधि सँग मिल्ने मितिको स्टिकर टाँसेको पाइएपछि टोलीले पसल बन्द गराएको थियो ।

औषधि विभागका प्रतिनिधि बिना कर शाखाका अनभिज्ञ कर्मचारीले अनुगमन गरेको भन्दै औषधी व्यवसायीहरूले विरोध जनाएका हुन् । विज्ञ र औषधी विभागको प्रतिनिधि बिना औषधी पसलमा ताला लगाउने कार्य निन्दनीय रहेको सुनसरी औषधी व्यवसायी सङ्घले जनाएको छ ।

बिहीबार दिउसो ११ बजेसम्म ताला नखोले इटहरीका सम्पूर्ण औषधी पसल बन्द गर्ने चेतावनी दिएको सङ्घले भोलिबाट पुनः पसल सञ्चालन गर्ने भएको छ। इटहरी उपमहानगरपालिकासँग वार्ता जारी राखेको सङ्घले महामारीमा जनतालाई सेवाबाट वञ्चित नगराउने भन्दै पसल खोल्न सहमति जनाएको हो ।

कोभिड-१९ को महामारीमा औषधी व्यवसायीको समस्या बुझेर समाधान गरिनुपर्ने ठाउँमा उपमहानगरपालिकाले हतोस्साहीत गरेको उनीहरूको औषधि व्यवसायी सङ्घ इटहरीका संयोजक सञ्जीव खड्काले बताए ।

अगामी दिनमा यस्ता निन्दनीय कार्य नगर्न प्रतिबद्धता जनाए पछि मात्र आन्दोलन रोकिने उनको भनाई छ । उपमहानगरसँगको छलफलमा मेयर द्धवारीकलाल चौधरीले माफी सहित विज्ञप्ति जारी गर्ने भएपछि आफूहरू सहमत भएको उनले जानकारी दिए ।

बिहीबार दिउसो इटहरी उपमहानगरपालिका घेराउमा पुगेका औषधी व्यवसायीलाई उद्योग वाणिज्य सङ्घ इटहरी र इटहरी नागरिक समाजले साथ दिएका थिए ।