विराटनगर : प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गए राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको थियो । कार उनका छोरा रोबिन कार्कीले चलाएका थिए ।

कारको ठक्करबाट पैदल यात्री ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारको लागि कोसी अस्पताल पुर्‍याए लगतै मृत्यु भएको थियो ।

कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका-२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते विराटनगर-४ स्थित न्यु एभरेस्ट फर्निचर उद्योगमा काम गर्छन् ।

रोबिन कार्की सहितका युवाहरू कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा खटिँदै आएका छन् । शव व्यवस्थापनमा जाँदा युवाहरूले सोही गाडी प्रयोग गर्थे ।

प्रहरीका अनुसार गए राति केही साथीसँग रोबिन एक होटलमा पुगेका थिए । होटलबाट निस्कँदा रबिनसँग अन्य दुई जना कारमा बसेका थिए । तर अनियन्त्रीत रूपमा रहेको कारले दुई जनालाई ठक्कर दिएको थियो ।

‘गाडीमा अरू दुई जना युवती पनि भएको प्रत्यक्षदर्शीले बताएका छन् । हामी घाइतेको उद्धार तर्फ लाग्यौँ उनीहरू गाडी छाडेर भागे ।’

दुर्घटनामा परेको कार क्षतिग्रस्त छ । दुर्घटनापछि फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।