झापा : झापामा निषेधाज्ञा लागु भएको एक महिना भएको छ। बिहीबार पाँचौँ पटक डीसीसीएमसीले जेठ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ। दोस्रो लहरपछि पहिलो पटक वैशाख २२ गतेदेखि निषेधाज्ञा लागु गरेको थियो।

एक महिनाको अवधिमा झापामा कोरोना सङ्क्रमण, मृत्यु दर र डिस्चार्जको सङ्ख्यामा ठुलो परिवर्तन आउन सकेको छैन।

वैशाख २२ गतेका दिन झापामा १९० जनामा कोरोना पुष्टि भएको थियो । सोही दिन ६ जना सङ्क्रमितको मृत्यु भएको थियो । त्यसको एक महिनापछि जेठ २० गते २०८ जनामा सङ्क्रमण भयो । डिस्चार्ज १८३ जना डिस्चार्ज भए । दोस्रो लहरमा मात्रै १२४ जनाको मृत्यु भएको छ भने २१ सय ९३ जना डिस्चार्ज भइसकेका छन्।

जेठ २० गतेसम्म ५४ सय ५४ जनामा सङ्क्रमण पुष्टि

वैशाख २२ गतेसम्म झापामा जम्मा सङ्क्रमितको सङ्ख्या ५६ सय थियो । त्यसपछि दोस्रो लहरमा २२ गते देखी जेठ २० गतेसम्म मात्रै ५४ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

पहिलो लहरमा तीन महिनामा भएको सङ्क्रमण सङ्ख्या दोस्रो लहरको एक महिनामै बराबर पुगेको छ। तथ्याङ्क अनुसार पहिलो लहरको तीन महिना बराबर दोस्रो लहरको एक महिना उस्तै सङ्क्रमण देखिएको छ।

जेठ १९ सम्म आइपुग्दा आइसियुमा ४८, भेन्टिलेटरमा १३, एचडीयू ८६, नर्मल बेडमा १५७ जना सङ्क्रमित उपचाररत छन् । डीसीसीएमसीको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार ५१।६४ प्रतिशत सङ्क्रमित नर्मल बेडमा उपचार गरिहरेका छन् ।

निषेधाज्ञाको एक महिनापछि खाद्यान्नका पसललाई हप्ताको दुई दिनमा खुला गर्न छुट दिइएको छ । हरेक आइतबार र बुधवार बिहान ६-९ बजे पसल सञ्चालनका लागि खुला गरिएको हो ।