झापा : झापाको दमकमा पछिल्लो २४ घण्टामा तिन जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । दमकको लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो।

अस्पतालका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी-१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।

यसअघि बिहीबार दिउँसो पथरीशनिश्चरे-१० का ७० वर्षीय पुरुष र दमक-८ की ७० वर्षीय एक वृद्धको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो। सो अस्पतालमा आज बिहानसम्म २५ कोरोना सङ्क्रमित उपचाररत हुनुहुन्छ।

गत वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल नौ सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालमा कूल ७९ सङ्क्रमित उपचारका लागि भर्ना भएका, १५ जनालाई अन्यत्र रेफर गरिएको छ भने २२ जना उपचारपछि निको भएका कोभिड फोकल पर्सन मोतेले बताए।

दमकमा लाईफलाईनसहित आम्दा अस्पताल, नगरपालिकाद्वारा सञ्चालित दमक कोभिड उपचार केन्द्र र एडभान्स अस्पतालमा कोरोनाका सङ्क्रमितलाई उपचारका लागि भर्ना लिने गरिएको छ।