झापा : झापाको गौरादह नगरपालिकामा तनाव भएको छ ।

केही समयअघि राहतमा आएको चामल कुहिएको र त्यसलाई नगरपालिकाले नष्ट गरेको विषयलाई लिएर विवाद भइरहेको छ । परिवर्तनका लागि युवा अभियान नामक समूहले नगरपालिकाले चामल नष्ट गरेको विषयलाई उठाइरहेको छ ।

नगरपालिका परिसरमा नगर प्रमुख रोहित शाह र गीता भेटवालले यसबारे आफ्ना कुरा राख्ने क्रममा नगरपालिका पुगेको समूहले हुल हुज्जत गरेको छ ।

चामल नष्ट गरिएको विषय बारे सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग राख्दै आएको सो समूहले विज्ञप्ति जारी गर्दै कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको छ । बिहीबार तालाबन्दी गर्ने भनिए पनि कडा सुरक्षाका कारण तालाबन्दी हुन सकेन ।

सोही समूह आज पनि नगरपालिका पुगेको छ । नगरपालिकामा तनाव हुने भएपछि सुरक्षाकर्मी परिचालन गरिएको एक जनप्रतिनिधिले जानकारी दिएका छन् ।

सामाजिक संस्था भनिएको युवा अभियानले सामाजिक सञ्जालबाट अमर्यादित भाषामा जनप्रतिनिधिलाई जुत्ताको माला लगाएर गौरादह परिक्रमा गराउने लेखेको छ । सामाजिक सञ्जालबाट अमर्यादित विषय लेखेको र भाटासम्म हान्ने लगायतका विषयले नगर परिसरमा विवाद भएको छ ।

नगरपालिकामा उपस्थित भएका काँग्रेस समर्थकले सामाजिक सञ्चालनमा मनपरी लेखेको विषयलाई प्रतिकार गरेका छन् । एक स्थानीय भन्छन्, जनप्रतिनिधिले गल्ती गरेमा कानुन बमोजिम कारबाही गर्ने बाटो छ । तर, जुत्ताको माला लगाउने, भाटा हान्ने विषय गलत छन् ।

उनले भने, राहत दिनुपर्ने चामल बिगार्नु हदैसम्मको कमजोरी हो । त्यस बापत गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउनै पर्छ । कानुनी राज्यमा जुत्ताको माला लगाएर घुमाउँछौँ भन्ने विषय लेख्नु ठिक होइन, उनी भन्छन् ।