इटहरी : इटहरी उपमहानगरपालिकाले नगरका टोल वस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ ।

गाउँ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निःशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिए । उनका अनुसार अहिले सम्म वडा नम्बर २,३,४,१२,१४ र १९ का समुदायमै पुगेर परीक्षण गरिएको छ ।

एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समुदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षण सँगै पोजेटिभ रिपोट आएका व्यक्तिहरूलाई औषधी समेत वितरण गर्दै आएको छ ।

कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्बर दिएर फोन गर्न आग्रह गरिन्छ । समुदायमा कोरोना सङ्क्रमण फैलन नदिन र कोरोना सङ्क्रमण भइहाले होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने सावधानीका बारेमा पनि जानकारी दिने गरिएको छ ।

यसै गरी इटहरी रङ्गशालामा उपमहानगरले बिहान ८ बजेदेखि १० बजे सम्म नि:शूल्क पिसिआर परीक्षण जारी राखेको छ । दिनमा सय बढीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम शुल्क उपमहानगरले उपलब्ध गराएर उपमहानरवासीका लागि नि:शूल्क परीक्षण गरिरहेको हो । अहिले परीक्षण गरेकै दिन पनि रिपोट आउने गरेको स्वास्थ्य शाखाकी पूजा भट्टराईले बताइन् । “हिजो स्वाब सङ्कलन गरेकै दिन रिपोट आयो ढिलो हुँदा पनि भोलिपल्ट त आउँछ ।”

प्रदेश ल्याबमा पनि परीक्षणको दायरा बढाउनका लागि प्रदेश सरकार सँग उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए । इटहरी उपमहानगर स्वास्थ्य शाखाले सङ्क्रमितहरूलाई फोन गरेर उनीहरूको स्वास्थ्य अवस्था वुझने र सल्लाह दिने गर्दै आएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्यकर्मीको टोली सहित सङ्क्रमितहरूको घर घरमै पुग्दै आएका छन् । इटहरी अस्पतालले विज्ञहरू राखेर संक्रमितहरुसँग जुम छलफल कार्यक्रम समेत गरेको छ ।

इटहरी उपमहानगरले कोभिड सङ्क्रमित बिरामीका लागि दुई वटा एम्बुलेन्स २४ सै घण्टा तैनाथ गरेको छ । इटहरी उपमहानगरले इटहरी रङ्गशालामा सञ्चालन गरेको ५० बेडको अक्सिजन सहितको आइसोलेसनबाट सङ्क्रमित नगरवासीले सेवा लिइरहेका छन् ।