धरान : कोरोना संक्रमणदर नघटेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते सम्म फेरि निषेधाज्ञा थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको आज एक सूचना जारी गरी जानकारी दिएको छ। यसअघि थपिएको निषेधाज्ञाको अवधि भोलि राती १२ बजे सकिन लागेपछि जिल्लाको डिसिसिएमसीको आज बसेको बैठकले थप एक साताको लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको हो ।

खाद्यान्न तथा तरकारी पसलहरूलाई केही खुकुलो बनाउने अपेक्षा गरिए पनि प्रशासनले निषेधाज्ञा अवधिभरि कुनै पनि पसलहरू खोल्न नदिने निर्णय गरेको छ। सर्वसाधारणहरूलाई पनि औषधी खरिद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको छ।

तर, मजदुरहरूलाई भने निर्वाधरुपमा आवतजावत गर्न दिइने निर्णय भएको छ। कृषी तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिने निर्णय भएको छ भने उद्योग तथा कलकारखानामा कार्यरत मजदुरहरूलाई बिहान ५ बजे देखि ७ बजेसम्म र बेलुकी पनि ५ देखि ७ बजेसम्म हिँड्न दिइने प्रशासनले जनाएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरू सम्बन्धित स्थानीय तह तथा उद्योग वाणिज्य सङ्घहरूको समन्वयमा हप्तामा ३ दिन (आइतबार, मङ्गलवार र बिहीबार) स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखी खुला गर्ने गरी थप व्यवस्था मिलाउने भनिएको छ ।

अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालयमा आवश्यक पर्ने कर्मचारीहरू बिहान ९ः०० बजे देखी १०ः०० बजेसम्म र दिउँसो ५ः०० बजे देखी ६ः०० बजेसम्म कार्यालयमा उपस्थित हुने प्रयोजनका लागी परिचय पत्रका आधारमा आवत जावत गर्न पाउने छन् ।

सार्वजनिक एवं निजी सवारी साधन सार्वजनिक एवं निजी सवारी साधन, सिटी सफारी (दुई पाङ्ग्रे चार पाङ्ग्रे) समेत जेठ ३१ गते राती १२ः०० बजेसम्म सुनसरी जिल्लाभर सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध, तथा दुग्धजन्य पदार्थ, मासु तथा मासुजन्य बस्तु चारोजन्य पदार्थ बोकेको सवारी साधन, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेनटिन आइसोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियर तथा डाक सेवा लगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी निर्बाध रूपमा सञ्चालन गर्न पाउनेछन् ।

तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसल, हाट, गुद्री समेत पूर्ण रूपले बन्द गर्ने, औषधी पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्ने निर्णय भएको छ ।

धानको बिउ रोप्ने समय भएकाले जिल्लामा सञ्चालित साझा तथा सहकारी संस्थाहरूबाट बिउ बिजन खरिदका लागि किसानहरूलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी आवत जावत गर्न दिनेछ ।

सञ्चारकर्मी / पत्रकारको हकमा सूचना सङ्कलन तथा सम्प्रेषण गर्न सूचना विभाग वा सम्बन्धित सञ्चार गृहले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिनेछ ।

विवाह तथा व्रतबन्ध आयोजनाका लागि ७ जना (दुलाहा दुलही सहित) भन्दा बढी नहुने गरी सहभागी हुन पाउने र उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्न पाउने छैन । वैवाहिक कार्यक्रममा सहभागी भई अन्यत्र जिल्ला जानु फर्कनु पर्ने भएमा (दुलाहा, दुलही सहित ) ७ जना भन्दा बढी नहुने गरी स्वास्थ्य मापदण्ड अपनाई सवारी साधनमा ब्यानर राखी आवत जावत गर्न पाउने भए पनि भारतीय नाकाहरूबाट आवतजावत गर्न निषेध गरिएको छ ।

मृत्यु संस्कार, बिरामी कुरुवाको रूपमा अनिवार्य सहभागी हुनु पर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्ति उक्त ब्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिस ) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेस गर्नु पर्नेछ ।

अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने, जम्मा खोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरू उपर कानुन बमोजिम कारबाही हुनेछ।

कोभिड १९ सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दा जिल्ला कोभिड सङ्क्रमण व्यवस्थापन समिति (डिसिसिएमसी) को मापदण्ड अनुसार गर्नु पर्ने छ ।

निषेधाज्ञा समयमा सर्वसाधारणमा खाद्यान्न तथा तरकारीहरू, दुध तथा दुग्ध पदार्थ, मासु तथा मासुजन्य पदार्थ, पक्षिं तथा पक्षीजन्य पदार्थको सङ्कट हुन नदिन माग तथा आवश्यकता अनुसार घर घरमै उपलब्ध गराउने बाहेक हाट, गुद्री र पसल खोली बिक्री वितरण गर्न नपाउने तर सङ्कलन गरी ढुवानी गर्न पाउने सूचनामा उल्लेख गरिएको छ।

Nisedhagya-1 Nisedhagya-2 Nisedhagya-3