धरान : जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् । राष्ट्रपति निवासमा राति ८ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

नयाँ मन्त्रिमण्डलमा जसपाका उपप्रधानमन्त्री राजेन्द्र महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । जसमा ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी मन्त्री अनिलकुमार झा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्ण रहेका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशङ्कर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाले युवा तथा खेलकुद मन्त्रालय पाएका छन् ।

त्यसैगरि सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नियुक्त भएका छन् । राज्यमन्त्रीमा जसपाबाट चन्द्रकान्त चौधरी ऊर्जा र रेनुका गुरुङ महिला बालबालिका नियुक्त भएकी छन् ।

कसले कुन मन्त्रालय पाए ?

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालय 

विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री

राजेन्द्र महतो : उपप्रधान तथा सहरी विकासमन्त्री

रघुवीर महासेठ : उपप्रधान तथा परराष्ट्रमन्त्री

कृष्णगोपाल श्रेष्ठ : शिक्षामन्त्री

शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री

शरतसिंह भण्डारी : ऊर्जामन्त्री

लीलानाथ श्रेष्ठ :  कानुन न्याय तथा संसदीय मामिलामन्त्री

बसन्तकुमार नेम्वाङ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री 

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्थामन्त्री 

अनिल झा : खानेपानी तथा सरसफाइमन्त्री 

विमल श्रीवास्तव : श्रम तथा रोजगारमन्त्री 

उमाशङ्कर अरगरिया : वन तथा वातावरणमन्त्री 

चन्दा चौधरी : महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री 

एकवाल मियाँ : युवा तथा खेलकुदमन्त्री 

चन्द्रकान्त चौधरी : ऊर्जा राज्यमन्त्री

रेणुका गुरुङ : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री