धरान : 'प्राकृतिक प्रणालीको पुनर्स्थापना' भन्ने नाराका साथ आज देशभर विश्व वातावरण दिवस मनाईदैछ ।

धरानमा पनि आज सरकारले बजेट वक्तव्य मार्फत चुरे क्षेत्रको विनास हुनेगरी गरेको गलत निर्णयको विरोध गर्दै विश्व वातावरण दिवस मनाइएको छ ।

वातावरण तथा पर्यटन विकास केन्द्र (सेड नेपाल) ले भानुचौकमा स्वास्थ्य मापदण्ड कायम गरी बजेट वक्तव्य मार्फत चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा, निकाल्ने नीतिको विरुद्धमा साङ्केतिक विरोध गरेको हो ।

सीमित मानिसको उपस्थितिमा नेपालको नक्सा माथि बालुवाको थुप्रो राखेर त्यस माथि सुकेका झिक्रा राखी चुरेको दोहनले गर्दा हुनसक्ने प्राकृतिक विपत्तिको सङ्केत दिने साङ्केतिक विरोध गरेको वातावरण तथा पर्यटन विकास केन्द्र (सेड नेपाल) का अध्यक्ष आनन्द श्रेष्ठले बताए ।

कार्यक्रममा जैविक विविधताको खानी, तराईको पानी टङ्की, चुरे क्षेत्रको दोहन बन्द गरी संरक्षण गरौँ, सर्दु जलाधार क्षेत्रको संरक्षण गरौँ, चुरे क्षेत्रको ढुङ्गा माटो बेच्ने सरकारी नीति खारेज गर लेखिएका प्लेकार्ड सहित साङ्केतिक विरोध गरिएको थियो ।