धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधार तथा विसङ्गति र विकृति अन्त्यका लागि दबाबमूलक कार्यक्रम गर्न प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा धरान नागरिक दबाब सञ्जाल गठन भएको छ।

पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दिनानुदिन बढ्दै गएको बेथितिका जनगुनासोहरू बाहिर आइरहेकोले धरानका राजनीतिक दल, नागरिक समाजका अगुवा तथा अभियान्ताहरु बिच आज धरान उपमहानगरपालिकाका मेयर तिलक राई सहितको उपस्थितिमा धरान उपमहानगरपालिकाको प्राङ्गणमा भएको छलफलले सो सञ्जाल गठन गर्ने निर्णय गरेको हो ।

सञ्जालको सदस्य सचिवमा डा.कमल तिगेला, सदस्यहरूमा पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बो, हरिप्रसाद दाहाल, गिरिधारी सापकोटा, प्रा.आनन्द आचार्य, हर्ष सुब्बा, भवानी बराल, गौरीशङ्कर अग्रवाल, नरप्रसाद लुम्फुङ्वा, चेतना श्रेङ, शिखा चेम्जोङ, हिरा उदास, राज विमल श्रेष्ठ, केशव घिमिरे, जनकऋषी राई र सुवास हुक्पाचोङ्वाङ गरी १ं७ सदस्यीय सञ्जाल गठन भएको छ ।

आज भएको बृहत् छलफलले तत्कालै बीपीका पदाधिकारीहरुसंग बृहत् छलफल गर्ने निर्णय भएको छलफलमा सहभागी नेकपा माओवादीका नेता चोत्लुङले जानकारी दिए । प्रतिष्ठानमा बढेको बेतिथिको अन्त्य गरी प्रतिष्ठानको साख फर्काउने गरी धरान नागरिक दबाब सञ्जालले अभियानलाई अगाडी बढाउने सञ्जालका संयोजक प्रा.डा. राजेन्द्र शर्माले बताए ।

पछिल्लो समय प्रतिष्ठानमा विकृति, विसङ्गति बढेको जनगुनासो बाहिर आए पछि धरानको गहनाकोरुपमा रहेको प्रतिष्ठानलाई सुधार गर्न राजनीतिक दल, नागरिक मञ्च अघि बढेका हुन् ।

Mainet