धरान : मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी-१३ का २८ वर्षीय राजेश मेहता, इटहरी-२० का ३८ वर्षीय बलराम गुरुङ, इटहरी-२ का ३९ वर्षीय सुवास लिम्बु, इटहरी-३ का ३० वर्षीय मचिन राई, इटहरी-४ का २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय मनोज परियार रहेका छन् ।

गत जेठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र-१-०५-००१ प-००६१ नम्बरको रातो रङ्गको २०० सिसीको एनएस मोटरसाइकल घरबाटै चोरी भए पश्चात् इलाका प्रहरी कार्यालय बेलबारीबाट सूक्ष्म रूपमा अनुसन्धान तथा खोजतलास थालेको थियो ।

खोजतलासको क्रममा प्रहरीले जेठ २१ गते चोरी भएको मोटरसाइकल राजेश मेहताको घरबाट फेला पारी मेहता सहित मोटरसाइकल नियन्त्रणमा लिएको हो । मेहता पक्राउ परे पश्चात् चोरीमा संलग्न बाकी ६ जना आ-आफ्नै घरबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।