सुनसरी : सुनसरी सदरमुकाम इनरुवा नगरपालिका स्थित इनरुवा अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या न्यून रहेको छ ।

इनरुवाको एक मात्र पुरानो जिल्ला अस्पतालको सेवा क्षेत्र ठुलो भए पनि जनअपेक्षा अनुसार सेवा दिन नसकेको हुँदा सेवा लिने सेवाग्राहीको सङ्ख्यामा कमी आएको हो ।

अस्पतालको जेठ महिनाको तेस्रो हप्ता सम्मको तथ्याङ्क हेर्दा २२ जना गर्भवती महिनाले मात्र प्रसूति सेवा लिएको देखिन्छ । राष्ट्रिय सुरक्षित मातृत्व कार्यक्रमको लक्ष्य मातृ र नवजात शिशु मृत्यु दर घटाउने र निवारक प्रोत्साहन गतिविधिहरू मार्फत मातृ र शिशुको स्वास्थ्यमा सुधार गर्नका निमित्त स्वास्थ्य संस्थामै प्रसूति गराउन प्रोत्साहित गरेको छ ।

सरकारी अस्पतालमा प्रसूति गराउँदा यात्रा खर्च ५ सय र सरकारी स्वास्थ्य सेवा केन्द्रहरूमा गर्भवतीले ४ पटक गर्भ जाँच गराएमा ४ सय प्रोत्साहन स्वरूप दिने गरेको पाइन्छ । सरकारले यस्ता आकर्षक योजनाहरू ल्याउँदा समेत सरकारी अस्पतालमा न्यून सङ्ख्याका सेवाग्राहीहरू सेवा लिन गएको देखिन्छ भने धेरै पैसा खर्च गरेर निजी अस्पतालहरूमा सेवाग्राहीहरू सेवा लिन बाध्य भई रहेको अवस्था छ ।

इनरुवा अस्पतालमा गर्भवती महिलाले प्रसूति गराउन आउँदा आवश्यक सेवा सुविधाको अभावका कारण अन्यत्र जाने गरेको अवस्था छ । अस्पतालमा हुनु पर्ने उपकरण एनआईसियू, पिआईसियू, भेन्टिलेटर, भिडियो एक्स-रे, ब्लड बैङ्क, ल्याब, औषधि लगायतको प्रभावकारी सेवा अभावका कारण न्यून सङ्ख्यामा मात्र प्रसूति गराउन आउने गरेको जनाइएको छ ।

प्रसूति वार्डमा कार्यरत नर्स पिङ्गी कुमारी मेहताका अनुसार हाल सम्म सामान्य किसिमको प्रसूति सेवा मात्र सेवाग्राहीलाई प्रदान गरिरहेको अवस्था छ ।

यहाँ प्रसूति गराउनका लागि चाहिने आवश्यक उपकरण तथा विशेषज्ञ चिकित्सकको अभावका कारण बिरामीमा कुनै जटिल प्रकृतिको समस्या देखिने बित्तिकै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा विराटनगरको सरकारी तथा निजी अस्पतालहरूमा रेफर गरी रहेको नर्स मेहेताले जानकारी गराइन ।

अहिले कोरोना कहरका कारण कतिपयले घर मै डेलिभरी गराउने गरेका छन् भने कतिपयले सेवा सुविधा सम्पन्न भएको ठाउँमा लगी डेलिभरी गराउने गरेको पाईएको छ ।

यसै बिच प्रसूति सेवा लिन आएका सेवाग्राही रमेश चौधरीले भने -यस अस्पतालमा सामान्य प्रसूतिको लागि राम्रो व्यवस्था रहेको पाएँ । प्रसूति लिन आउने सङ्ख्या कम भएकोले डिउटीमा रहने नर्सहरूले समेत राम्रो सेवा प्रवाह गरी रहेको अवस्था छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य तोया गिरीले सेवा लिन आएका सुत्केरी महिलाहरुसँग अस्पतालले प्रवाह गरेको सेवासुविधाको बारेमा जानकारी लिएका छन् । प्रसुतीमा आएकाहरुलाई प्रभावकारी सेवा प्रवाहको लागि हर प्रयास गरी रहेको जानकारी गराइन ।

त्यसै गरी सोही अस्पतालमा सेवा लिन आएका सिताराम पोद्दारका अनुसार अस्पतालको दक्षिण तर्फ कोभिड उपचार केन्द्र भएको कारण समय समयमा अस्पतालमा सेनिटाइज तथा फिनाइल पानीले सरसफाइ गर्नु पर्नेमा सो गरी रहेको अवस्था देखिँदैन । अस्पताल व्यवस्थापन समितिले सरसफाईमा ध्यान पुर्र्याउनुपर्ने औलयाएका छन् ।

नेपालको संविधानमा मौलिक हकको रूपमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने छ भने कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ ।

स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा जनअपेक्षा अनुरूप प्रवाह गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विभाग, स्थानीय सरकार, अस्पताल व्यवस्थापन समिति तथा अस्पताल प्रमुख लगायतका सरोकारवालाहरूले चाहिने आवश्यक सामाग्री सहित विशेषज्ञ चिकित्सकको व्यवस्था गरे मात्र जनचाहना अनुरूपको सेवा प्रवाह गर्न सकिन्छ अन्यथा भौतिक संरचना मात्र भएर केही हुँदैन ।