धरान :  गत बिहीबार मदिरा सेवन गरी सवारी साधन चलाएर विराटनगर-४ एयरपोर्ट रोडमा भएको कार दुर्घटना पछि फरार भएका कारका चालक रबिन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

कार्कीलाई आइतबार अपराह्न प्रहरीले भट्टा चौकमा रहेको उनकै घरबाट पक्राउ गरेको मोरङ प्रहरीका उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

एक जना मजदुरको मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरी भएको दुर्घटनामा पैदल यात्रीलाई ठक्कर दिँदा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका-२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए । मृतक र घाइते विराटनगर-४ स्थित न्यु एभरेस्ट स्टिल उद्योगका कामदार रहेको प्रहरीले जानकारी दिएको छ।

घाइते तथा मृतकका परिवारले प्रहरीले ढिलो गरी पक्राउ गरेको भन्दै आलोचना गरेका छन् । प्रहरीले कारबाहीमा कन्जुस्याइँ गर्न सक्ने कुरा समेत उनीहरूको भनाई छ ।

प्रहरीले चार दिनपछि पक्राउ गरेर कार्कीलाई सवारी ज्यान कसुरमा म्याद थप्ने प्रक्रिया बढाइएको प्रहरीले जनाएको छ ।

प्रदेश ३-०१-००२ च २१३९ नम्बरको कारका चालक कार्की प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा हुन् ।
उनले मदिरा सेवन गरेर कार चलाएका बेला दुर्घटना भएको बाहिर आएको छ। तर, प्रहरीले तत्काल पक्राउ नगरेपछि उनले मादक पदार्थ सेवन गरेको मेडिकल रिपोर्ट निस्प्रभावि हुने निश्चित छ।

प्रहरीले कारमा रहेका पाँच जनामध्ये केहीसँग र मदिरा सेवन गरेको होटेल एड्मायरका सञ्चालक पङ्कज साहसँग यस अगाडी बुझेको थियो। तर, यो कुरा प्रहरीले गोप्य राखेको स्रोतको दाबी छ ।

Sabhasadko-Gadiko-Thakkar