सुनसरी : सुनसरीका १२ वटै पालिकाहरूमा पुग्ने गरी ज्येष्ठ नागरिकका लागि कोरोना विरुद्धको १३ हजार डोज खोप सोमबार स्वास्थ्य कार्यालय सुनसरीलाई हस्तान्तरण गरिएको छ ।

प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले १२ वटै पालिकाका लागि २६ हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाइने गरी उक्त खोप स्वास्थ्य कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका हुन् । उच्च जोखिममा रहेका ६२ वर्ष देखी ६५ वर्ष उमेर समूहका ज्येष्ठ नागकिरहरुलाई आगामी जेठ २५ गते देखी लगाउने गरी कोरोना विरुद्धको खोप प्रदेश सरकारले खोप उपलब्ध गराएको जनाइएको छ ।

सङ्घीय सरकारको समन्वयमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले आगामी जेठ २५ गते सुरु गरिने खोप कार्यक्रमका लागि यहाँका १२ वटै पालिकामा पुग्ने गरी पहिलो चरणमा १३ हजार डोज खोप हस्तान्तरण गरिएको मन्त्री कुसियैतले जानकारी दिए ।

मन्त्री कुसियैतले आफूले सुनसरीका लागि बाचा गरे अनुसारको खोप क्रमशः उपलब्ध गराउने साथै ६२ देखि ६५ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी खोप उपलब्ध गराएको बताए ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले प्रदेश १ का सबै जिल्लामा खोप पुर्याउने क्रममा सुनसरी स्वास्थ्य कार्यालयलाई मन्त्री कुसियैतले खोप हस्तान्तरण गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश १ मा दुवै डोजका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएकोमा सुनसरीमा २६ हजार १३२ डोज खोप पठाउने क्रममा १३ हजार हस्तान्तरण गरेको बताइएको छ ।

कोरोना भाइरस विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेका मापदण्ड अनुसार ज्येष्ठ नागरिकहरूलाई मात्र लगाउन मन्त्री कुसियैतले आग्रह गरे । उनले सबै नागरिकलाई छिटो भन्दा छिटो कोरोना भाइरस विरुद्धको खोप लगाउन सरकार लागि परेको बताए ।

विश्व स्वास्थ्य सङ्गठनले भेरोसेल १८ वर्ष माथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप प्रदेशका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकहरूलाई मात्र लगाउन सरकारले मापदण्ड बनाएकाले सोही अनुसार गर्न निर्देशन गरिएको मन्त्री कुसियैतले बताए । खोप सहित ४० हजार थान मास्क स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईँलाई हस्तान्तरण गरिएको जनाएको छ ।