इटहरी : कोरोना महामारी व्यवस्थापन र नियन्त्रणकोलागी हिमालयन बैङ्क लिमिटेडले इटहरी उपमहानगरपालिकालाई १ लाख १ हजार सहयोग गरेको छ । बैङ्कको इटहरी शाखाले कार्यालयमै मेयर द्वारीकलाल चौधरीलाई रकम हस्तान्तरण गरेको हो ।

शाखा प्रमुख सुनिल सापकोटाका अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरिएको हो। उपमहानगरपालिकाले केही दिन अगाडी सहयोगकोलागी आग्रह गरेको र केन्द्रीय कार्यालयबाट अनुमति पाएकाले सोमबार रकम हस्तान्तरण गरिएको उनले बताए ।

सो रकम आइसोलेसन सञ्चालन र बिरामीलाई खाना खुवाउनकोलागी खर्च गरिने इटहरी उपमहानगरपालिकाले जनाएको छ । मेयर चौधरीले धन्यवाद ज्ञापन गर्दै बैङ्कको प्रगतिको कामना गरेका छन्।

यसअघि हिमालयन बैङ्कले धनकुटाको डाक्टर रामप्रसाद आँखा अस्पताललाई मेसिन हस्तान्तरण गरेको थियो । गत पौषमा ३६ लाख बराबरको मेसिन हस्तान्तरण गरिएको सापकोटाले जानकारी दिए । सो मेसिन पछिल्लो समय आँखा उपचारकोलागि अत्यन्तै प्रभावकारी मानिन्छ ।

त्यससँगै धनकुटा र मादी नगरपालिकामा पनि कोभिड व्यवस्थापनकोलागी रकम दिने बारे छलफल भइरहेको उनले बताए ।