धरान : धरानमा आज देखि तीन दिन सम्म कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाईदैछ ।

धरानमा यस पटक चिनिया खोप भेरोसेल २१८० भाईल उपलब्ध भएकोले सोही सङ्ख्यामा ६० वर्ष देखी ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई लगाइने लक्ष लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

खोप लगाउन आउँदा उमेर खुल्ने प्रमाणपत्र सहित आउन धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।

यो खोप धरान स्वास्थ्य चौकी छाताचौकमा जेठ २५, २६ र २७ गते तीन दिन खोप लगाईदैछ । यसै गरी सहरी स्वास्थ्य क्लिनिक श्याम चौक र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र रेलवेमा भने जेठ २६ गते बिहान १० बजे देखी अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुदैछ ।

यो खोप पहिलो मात्रामा लगाएको ४ हप्ता पछि दोस्रो मात्रा लगाउनुपर्ने बताइएको छ ।

यसै गरी सरकारले आज देखि मुलुकभर कोरोनाविरुद्धको खोप अभियान चलाउँदै छ । चीनबाट अनुदानमा प्राप्त १० लाख भेरोसेल खोप काठमाडौँ उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाउन लागिएको हो ।

चीनसँग सिमाना जोडिएका स्थानीय तहमा १८ वर्षमाथिका नागरिकलाई खोप लगाइने स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए । यसअघिको निर्णयमा चीनसँग जोडिएका जिल्लाका १८ वर्षमाथिका नागरिकलाई नै खोप दिने निर्णय भएको थियो ।