धरान : गत जेठ १३ गते साँझ धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने दुई जनाले जिल्ला प्रहरी कार्यालय धनकुटामा पुगेर आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले दिएको जानकारी अनुसार धरान-१५ बस्ने ३२ वर्षीय रेगन राई, धरान-४ बस्ने ३० वर्षीय वसन्त राईले गए राति ११ बजे धनकुटाका जनप्रतिनिधि मार्फत आत्मसमर्पण गरेका हुन् ।

धरानवासीले प्रहरी चौकी आक्रमण गर्नेलाई धरान प्रहरीले पक्राउ गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनीहरूले प्रहरी चौकीमा पुगेर प्रहरी माथि नै आक्रमण गर्नुका साथै तोडफोड गरेका थिए । उनीहरूलाई धरान प्रहरीले व्यापक खोजी गरिरहेको बेलामा उनीहरू धनकुटा पुगेर आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पण गरेका दुबैलाई अहिले धरान पठाउने तयारी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।