धरान : पाँचथरको हिलिहाङ गाउँपालिका–७ टारी स्थित मेचीराजमार्गमा झापाबाट ताप्लेजुङतर्फ खाद्यान्न लिएर जाँदै गरेको मालवाहक पिक अप अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज दिउँसो झापाबाट ताप्लेजुङतर्फ खाद्यान्न लिएर जाँदै गरेको प्रदेश नः१–०१–००१ च ७६९१ नम्बरको पिकअफ गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

सो दुर्घटनामा परी चालक ताप्लेजुङको पाथिभारा याङवरक गाउँपालिका–२ थेचम्बु बस्ने अन्दाजी ३०/३२ वर्षको मिलन विष्ट र अन्दाजी २४/२५ वर्षकी सीता अधिकारीको मृत्यु भएको हो । दुवै जनाको शव जिल्ला अस्पताल पाँचथरकाको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।