धरान : धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाकालागि युकेबाट एक दम्पतीले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

धरान-१८ का वडाध्यक्ष प्रवीण राईको पहलमा हाल युकेमा बसोबास गरिरहेका दाउकुमारी राई र उनका श्रीमान् गंगा लिम्बुले २७ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

युकेबाट नेपाल आइपुगेको उक्त स्वास्थ्य सामग्री आज धरान उपमहानगरको परिसरमा प्रदान गरिएको छ। यस्तै, काठमाडौँस्थित सामाजिक संस्था बोधिसत्त्व विहार बुढानीलकण्ठबाट बुनूँ लिम्बूको संयुक्त सहयोगमा २७ लाख ६५ हजार रुपैयाँ बराबरको सामग्री आइपुगेको हो ।

अक्सिजन कन्सन्ट्रेटर, पिपिई सेट, सर्किजल मास्क, सर्किजल ग्लोब्स, फेससिल्ड, के एन नाइन्टी फाइभ सिल्ड, पी प्याप सेट, सी प्याप सेट सहितका स्वास्थ्य सामग्रीहरू रहेका छन् ।

वडाध्यक्ष राईका अनुसार धरान उपमहानगरपालिका, धरान १८ को वडा कार्यालय, बराहक्षेत्र नगरपालिकाको चतरास्थित प्राथमिक स्वास्थ्य केन्द्र र ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा स्वास्थ्य सामग्री पठाइएको छ । वडाध्यक्ष राईले मंगलबार धरान उपमहानगर परिसरमा नगरप्रमुख तिलक राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

यस्तै, धरान उपमहानगरका प्रमुख राईले बराहक्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्र चतराको लागि प्राप्त भएका स्वास्थ्य सामग्री सञ्चारकर्मी हिमाल राईलाई प्रदान गरेका छन्। यस्तै, ताप्लेजुङ पाथीभरा याङ्वरकको नाङखोलेङ स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र ताप्लेजुङलाई अहेब मुकुन्द दाहालमार्फत स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

धरान-१८ र धरान उपमहानगरपालिकालाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको छ। उक्त स्वास्थ्य सामग्री वरिष्ठ पत्रकार हर्ष सुब्बा, समाजसेवी विनोद राई, प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।