धरान : धरान सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-८ सोनयाही सिशुवा स्थित दशगजा क्षेत्रको मकैबारीमा लुकाएर राखिएको अवैध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।

५ पाँच वटा बोरामा रहेको उक्त गँजा १ सय २ किलो रहेको सशस्त्र प्रहरी बल भोक्राहाका सशस्त्र प्रहरी निरीक्षक महेश विक्रम केसीले जानकारी दिए। सशस्त्र प्रहरी बल बिओपी उल्टी भोक्राहाबाट इन्स्पेक्टर केसीको नेतृत्वमा खटिएको सात जनाको प्रहरी टोलीले विशेष सुराकीका आधारमा मंगलबार बिहान सो परिमाणको गाँजा बरामद गरेको हो।

सुनसरीको सिशुवा भोक्राहाबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले राखिएको गाँजा बरामद गरेको इन्स्पेक्टर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार मकैबारीमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो। यस सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट राजन कार्कीको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको जानकारी दिइएको छ।

तस्करी गर्ने उद्देश्यले राखिएको गाँजा सशस्त्र प्रहरीले बरामद गरे पनि तस्कर पक्राउ पर्न नसकेको सशस्त्र प्रहरीको भनाई छ। यस अघि पनि भारतबाट अवैध रूपमा राजस्व छलेर ल्याएको चालीस हजार बराबरको विभिन्न सामाग्रीहरू नियन्त्रण गरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको थियो ।

सो सिमानाकाबाट विगत लामो समय देखि गाँजा तस्करी भइरहेको स्थानीयवासीहरुले गुनासो गरेका थिए । सशस्त्र प्रहरी निरीक्षक केसीले गुनासो आएपछि सो क्षेत्रमा कडाइ गर्नुको साथै तस्करी नियन्त्रणमा लागेकोले आज ठुलो परिमाणको गाँजा बरामद गरेको बताए ।