धरान : राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने धरानका दुई व्यापारी विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ। विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ८ करोड ९४ लाख भन्दा बढीको बिगो असुल उपर गरी जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दर्ता गरेको जनाएको छ।

मुद्दा दर्ता गरिनेमा सुनसरी जिल्ला धरान-१२ बस्ने ग्लोबल इम्पेक्स इन्टरनेशनलका सञ्चालक किसन कुमार अग्रवाल, सोही स्थानमा बस्ने किसन कुमार अग्रवालका बुबा एसएन इन्टरनेशनलका सञ्चालक राम निवास अग्रवाल छन्।

झुट्टा तथा नक्कली मूअकर विजक प्रयोग गरी ४ करोड ४२ लाख ७ हजार ६ सय ७४ रुपैयाँको राजस्व चुहावट गरेको आरोप किसन अग्रवाललाई लागेको छ भने ४ करोड ५२ लाख ४२ हजार ७ सय ५३ रुपैयाँ राजस्व चुहावट गरेको आरोप राम निवास अग्रवाललाई लगाइएको छ। विभागले दुवै जनालाई सोही बमोजिम बिगो असुल गरी जरिवाना र कैद मागवादी गर्दै गत आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।

दुवै जनालाई अदालत समक्ष बिगो असुल उपर गरी जरिवाना र कैद सजायको माग समेत गरिएको छ। मुद्दा दायर गरिएका मध्ये एसएन इन्टरनेशनलका सञ्चालक भनिएका राम निवास अग्रवाल भने हाल जिबित छैनन।

२०७७ पुस १६ गते धरान १२ मा रहेको अग्रवाल बाबुछोराको राम निवासमा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेर सिल गरेको थियो।

राजश्व छली भएको सूचना पाएको राजश्व अनुसन्धान कार्यालय इटहरीले आवश्यक कागज, विल विजक माग गरेको थियो। आवश्यक कागज तथा विल विजक देखाउन नसकेपछि उनीहरूले सञ्चालन गरेको हार्डवेयर सिल गरिनुका साथै सोही दिन किसन कुमार अग्रवाल र किसन कुमार अग्रवालका छोरा अग्रिम खेतान अग्रवाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

अग्रवाल बाबु छोराले धरानमा करोडौँ रुपैयाँको कारोबार गर्ने र खानेपानी संस्थान धरान शाखा अन्तर्गत खानेपानीको उपभोक्ता मध्ये करिब २० हजार जनाको निजी धारा जडान गर्दा चाहिने पानीको मिटर र पाइप बिक्री वितरणमा एकाधिकार पाएको आरोप लाग्दै आएको थियो ।