विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदकालागि अनुमति दिन आग्रह गरेकी छिन्।

सङ्घीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नुपर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन मन्त्री राईले आग्रह गरेकी हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले सो कुरा बताएकी हुन् ।

उनले कोरोना सङ्क्रमण नियन्त्रणकालागि खोप नै महत्त्वपूर्ण रहेकाले सङ्घीय सरकारलाई चाँडोभन्दा चाँडो प्रबन्ध गर्न आग्रह गरिन् । मन्त्री राईले भनिन्,‘ केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस्।’

कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरूले बताइरहेकाले आवश्यक तयारी गर्न आवश्यक देखिएको उनले बताइन्। तेस्रो लहरको पनि पुर्वतयारी आवश्यक रहेकोमा मन्त्री राईको जोड छ। कोरोना सङ्क्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको उनले बताइन् ।

प्रदेशका दुर्गम स्थानहरुमा कोरोना फैलिँदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको बताइन्। मन्त्री राईले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेकोमा जोड दिइन् ।

उनले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी गराइन् । मन्त्री राईले भनिन् ‘प्रत्येक जिल्ला अस्पतालहरूलाई सुविधा सम्पन्न बनाउने गरी अघि बढेका छौँ।’ सबै स्थानीय सरकारको बजेट केन्द्रीकृत गरी पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागि परेको उनले बताइन् । उनले भनिन्,‘एचडियू, आइसियु, भेन्टिलेटर, आवश्यक जनशक्ति सहितको विकसित अस्पताल निर्माण हुनेछ।’

विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरी विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उनले बताइन । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरू, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।