धरान : गोर्खा वेलफेयर ट्रस्ट नेपालले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आइसोलेसन सेन्टरलाई ९ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

धरान–१९ स्थित हरियाली सामुदायिक भवनको आवास गृह परिसरमा एक कार्यक्रमको आयोजना गर्दै गोर्खा वेलफेयर ट्रस्ट नेपालले आज ९ लाख २८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरेको हो ।

एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख अफिसर पूर्णप्रसाद लिम्बुका अनुसार आइसोलेसन सेन्टरलाई ३ थान अक्सिजन कनेक्टरका साथै पल्स अक्सिमिटर २० थान र पिपिई सेट २ सय थान सहयोग प्रदान गरिएको छ । प्रमुख अफिसर लिम्बुले आवश्यक परेको खण्डमा आइसोलेसन सेन्टरलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश एकको २२ स्थानमा गोर्खा वेल्फेयरले स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।

मेयर तिलक राईले स्वास्थ्य सामग्री ग्रहण गर्दै गोर्खा वेल्फेयरको प्रशंसा गरे । मेयर राईले गोर्खा भूतपूर्व आर्मीहरूको सेवामा, आश्रित परिवार र गोर्खा भूतपूर्वहरूको बसोबास रहेको क्षेत्रमा गोर्खा वेल्फेयरले विभिन्न मानवीय सेवाहरू गरिरहेको बताए ।

धरान आफैमा गोर्खा भूपूहरूको अत्यन्तै बाक्लो बस्ती भएको बताउँदै मेयर राईले भने, “गोर्खा वेल्फेयर ट्रस्टले विपद्को बेलामा, खानेपानी, शिक्षा लगायत विभिन्न क्षेत्रहरूमा सहयोग गरिरहेको छ ।” धरान उपमहानगरपालिकालाई यसभन्दा अघि कोभिड–१९ को पहिलो लहरमा पनि गोर्खा वेल्फेयरले सहयोग गरेको थियो ।

कोभिड–१९ को दोस्रो लहरमा पनि अत्यन्तै महत्त्वपूर्ण स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै गोर्खा वेल्फेयर ट्रस्टलाई धन्यवाद व्यक्त गरे । मेयर राईले डेडबडी व्यवस्थापनका लागि नेपाल आर्मी र नेपाल स्काउटसँग समन्वय गरिरहेको पनि जानकारी दिए । साथै, मेयर राईले आइसोलेसनमा बसेका सङ्क्रमित बिरामीहरूको पनि स्वास्थ्य अवस्था बुझेका थिए ।

हरियाली आइसोलेसन सेन्टरमा खटिएकी स्वास्थ्यकर्मी दिपकला राईले सेन्टरमा १२ जना कोरोना सङ्क्रमित बिरामीहरू बसिरहेको जानकारी दिइन् । उनले भनिन् “आइसोलेसन सेन्टरमा १४ जना सङ्क्रमित बसेका थिए । २ जना ठिक भएर डिस्चार्ज भए । अहिले १२ जना हुनुहुन्छ । उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ ।”