धरान : सुनसरीमा कोरोना सङ्क्रमणदर कम भएको भन्दै भोलिदेखि सुनसरी जिल्लामा लागू गरिएको निषेधाज्ञा खुकुलो हुने भएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्रत्यायोजित अधिकार समेत प्रयोग गरी मिति २०७८/०२/३१ गते सम्मका लागी सुनसरी जिल्ला भर लागु हुने गरी निषेधाज्ञा जारी गरिएकोमा हाल संक्रमणदरमा केही कमी हुँदै गएको र निषेधाज्ञाका कारण सर्वसाधारणमा पर्न गएको कठिनाइलाई मध्यनजर गरी मिति २०७८/०२/२७ गते देखि निषेधाज्ञा खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी सूचनामा उल्लेख छ।

भोलि देखि खाद्यान्न पसल डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष समेत बिहान १० बजे देखी अपराह्न ३ बजे सम्म खुला गर्ने तर पसलमा भिडभाड हुन नदिन सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य सङ्घको समन्वयमा घर घरमै होम डेलिभरी पुर्याउने व्यवस्था मिलाउने, पसल खोल्दा स्वास्थ्य मापदण्ड अपनाउने, मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने पूर्ण रूपले पालना गरेको हुनु पर्नेछ।

दूध डेरी तथा माछा मासु पसल आदी स्वास्थ्य मापदण्ड अपनाई बिहान १० बजे सम्म र बेलुका ४ बजे देखी ७ बजे सम्म खोल्न पाउने, फलफूल तथा तरकारी सङ्कलन तथा ढुवानी निर्बाध रूपले गर्न पाउने र बिहान १० बजे देखि अपराह्न ३ बजे सम्म ठेला गाडा समेतमा राखी घर घरमा बिक्री गर्न पाउने तर सब्जी मण्डी, गुद्री, हाट बजार लगायतका स्थानमा बिक्री वितरण गर्न नपाउने सूचनामा उल्लेख छ।

शैक्षिक सत्र सुरु हुन लागेकोले स्कुलका पुस्तकहरू बिक्रि वितरण गर्नु पर्ने भएकाले पुस्तक तथा स्टेशनरी सामान स्वास्थ्य मापदण्ड अपनाई बिहान १० बजे देखी अपराह्न ३ बजे सम्म खोल्न पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले आज जारी गरेको सूचनामा उल्लेख छ।

CDO-notice