झापा : पतिको करियामा बसेका बेला आगोले जलेर घाइते भएकी पाँचथरकी एक वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

पति भगीरथ सापकोटाको किरियामा बसेका बेला ग्यास लिक भएर आगो लाग्दा जलेर फिदिम नगरपालिका–४ की ७२ वर्षीया वृद्धा चनमाया सापकोटा घाइते भएकी थिइन् ।

सोमबार राति भएको सो घटनापछि उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुरमा ल्याइएको थियो । उनको उपचारकै क्रममा बुधवार बिहानको राति १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगोले जलेर चनमाया सहित छोराहरू ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटा पनि घाइते भएका थिए । घाइते छोराहरूको भने मेची अस्पतालमै उपचार भइरहेको छ ।

घरमै निधन भएका भगीरथको दाहसंस्कार पछि किरियामा बसेका बेला पानी तताउन ग्यास बाल्ने क्रममा आगो सल्किएर घटना भएको प्रहरीको भनाइ छ ।

जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि तीनै जना घाइतेलाई थप उपचारका लागि मेची अस्पताल ल्याइएको थियो ।