इटहरी : मोरङको बेलबारी नगरपालिकाले २०७७ चैत ११ गते अस्ट्रेलियन फुल ब्लडको बोयर बाख्रा खरिद गर्न सूचना प्रकाशित गर्‍यो। सोही सूचनाको आधारमा सङ्खुवासभाको ग्रो अर्ग्यानिक कृषि प्रालीको नाममा ठेक्का सम्झौता भयो । सम्झेता अनुसार अस्ट्रेलियन फुल ब्लड बाख्रा ल्याउने उल्लेख भयो।

सम्झौताको मितिमै प्रालीले बाख्रा बेलबारी नगरपालिकालाई हस्तान्तरण गर्‍यो। नगरपालिकाले पनि वडा कार्यालयको सिफारिसमा धमाधम बाख्रा वितरण गर्‍यो । त्यसको केही दिनमै बाख्रा बोयर नभई लाम्काने भएको फेला पर्‍यो । अस्ट्रेलियन भनेर माग भएको बाख्रा नवलपरासीबाट ल्याएको पुष्टि भयो।

जेठ १५ गते अस्ट्रेलियाबाट आयात गरेको भनिएको ९२ वटा ‘फूल ब्लड’ बोयर बाख्रा विभिन्न ४४ वटा फर्म र केही किसानलाई वितरण भइसकेको छ। जेठ ३ गते प्रालीले एक करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो। १५ गते बोका वितरण गर्दा किसानले विरोध जनाए पछि कुरा बाहिर आएको हो।

विरोध सुरु भएपछि नगरपालिकाले जेठ १७ गते विज्ञप्ति जारी गरी प्रस्ट पार्ने कोसिस गरेको छ । सो फर्मले अहिलेसम्म भुक्तानी नलगेको नगरपालिकाले उल्लेख गरेको छ । बाख्रा अस्ट्रेलियन फुल ब्लडको भएको प्रस्ट नभए कानुन अनुसार कारबाही गरी कालोसूचीमा दर्ता गराउने नगरपालिकाले चेतावनी दिएको छ ।

boyar-1

मेयर ज्ञानेन्द्र सुवेदीका अनुसार आयातकर्ताले भारतको लखनउ हुँदै ल्याएको बताएपछि बाख्रा बाँडिएको हो । नगरपालिकाले कागजात माग्दा समेत नबुझाएकाले अहिलेसम्म भुक्तानी रोकिएको उनले बताए।

स्थानीय स्तरमा विरोध सुरु भएपछि उपमेयर ढाकाकुमारी पराजुलीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । विभिन्न राजनैतिक दल सम्बद्ध समितिले असार १ गते भित्रमा प्रतिवेदन बुझाई सक्नुपर्ने छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले विद्युतीय प्रणालीबाट ठेक्का खुलाइएको र सोही अनुसार बाख्रा खरिद गरिएको जानकारी दिए । सबैतिर बुझ्दा बाख्रा आफूहरूको माग अनुसारको नभएकाले समितिको प्रतिवेदन र कानुन अनुसार कारबाही प्रक्रिया अगाडी बढाइने उनले बताए ।

शाहका अनुसार भन्सारमा बुझ्दा बाख्रा नेपाल भित्रिएको जानकारी नआएको र बाख्रा ल्याएको गाडी चालक सँग बुझ्दा नवलपरासीबाट ल्याएको पाइएको हो । बाख्राको प्रकृति बारे जानकारको कुरा बुझ्दा बोयर नभएर लोकल लाम्काने भएको अनुमान गरिएको उनले बताए ।