धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा धरान-८ का एक जना पुरुष सहित २ जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलले दिएको जानकारी अनुसार गए राति धरान-८ का ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई जेठ २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । विजयपुर हस्पिटलबाट रेफर भएका उनी जेठ २५ गते बीपीको कोभिड अस्पतालमा भर्ना भएका थिए । यो सँगै धरानमा कोरोना सङ्क्रमणको दोस्रो लहरबाट मृत्यु हुनेको सङ्ख्या अहिले सम्म ५२ पुगेको छ ।

यसै गरी आज बिहान ४ः२५ बजे रामधुनी नगरपालिका वडानं.-९ का ७० वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

उनलाई जेठ २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जेठ २१ गते उपचारका लागि कोभिड अस्पतालमा भर्ना भएका थिए ।