झापा : यति बेला झापाको एक परिवार निधन भएको आफ्नो परिवारको सदस्यको भन्दा पनि अस्पतालमा तिर्न बाँकी पैसाको चिन्तामा पिरोलिएको छ।

झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ५ निवासी राजकुमार परियारलाई आफ्नी श्रीमतीको निधन भन्दा पनि उपचार बापतको बिएण्डसी अस्पताललाई तिर्नुपर्ने बाँकी रकमको चिन्ताले सताएको छ।

परियारकी श्रीमती ४२ वर्षीय कौशिला परियारलाई जेठ ७ गते श्वासप्रश्वासमा समस्या देखिएपछि दिउँसो १२ बजेतिर बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। अस्पतालको प्रयोगशालामा एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । श्रीमतीलाई उपचार गराउन राजकुमारले २ लाख रुपैयाँ धरौटी बापत जम्मा गरेर उपचार सुरु गराए।

अक्सिजनको हाइफ्लोमा राखेर उपचार गर्नुपर्ने अस्पतालले बताएपनि आफ्नी जेठीसासु कौशिलाको अक्सिजन लेभल कहिले नबढेको ज्वाइँ उमेश रणपहेलीले बताए । सुरुमा अस्पतालका कर्मचारीसँग बुझ्दा दैनिक अधिकतम ३०/३५ हजारभन्दा बढी खर्च नलाग्ने बताएपनि डिस्चार्जको समयमा अत्यन्तै धेरै बिल आएको उनले गुनासो गरे। 

जेठ ७ गते भर्ना भएकी कौशिलाको जेठ १७ गते निधन भएको थियो । डिस्चार्जको समयमा अस्पतालले उपचार बापतको मात्र परिवारलाई ७ लाख ९० हजार ३६५ को बिल थमाएको छ भने फार्मेसीको बिल बापत १ लाख ७० हजार ७०७ रुपैयाँ भुक्तानी गरेका छन् ।

अर्जुनधारा नगरपालिका कार्यालयमा करारमा सवारी चालकको रूपमा काम गर्ने विपन्न परिवारका राजकुमारले अस्पतालमा त्यति महँगो बिल आउला भन्ने नसोचेको बताए । आफन्त तथा साथीहरुसग मागेर धरौटी बापतको २ लाख जम्मा गरेका उनले श्रीमतीको लास निकाल्न पुनः आफन्त र साथीभाइसँगै ३ लाख पैसा जम्मा गरी अस्पताललाई बुझाएपनि अस्पतालले पूरा रकम तिर्नुपर्ने बताएपछि एनआइसी एसिया बैंकको असार ३ गतेको २ लाख ९० हजार ३६५ को चेक जम्मा गरेको बताए। 

अत्यन्त न्यून आर्थिक अवस्था भएका राजकुमारको परिवारलाई यति बेला त्यही चेकको रकम कसरी जम्मा गर्ने भन्ने चिन्ताले रातोदिन पिरोलिरहेको छ ।

कोरोना सङ्क्रमितको उपचार बिएण्डसीमा अत्यन्तै महँगो भएको उनीहरूको गुनासो छ। मृत्यु हुनु अगाडि १ घण्टा जति मात्र भेण्टिलेटरमा राखिएको हुँदा कसरी दिनको ७० हजार बढिको बिल उठ्यो भन्दै परियार आक्रोश व्यक्त गर्छन्। 

कौशिलाको १७ गते नै मृत्यु भए पनि खर्च अभावमा परिवारले भोलिपल्ट मात्र लास निकालेका थिए। सुरुमा कोरोना पोजेटिभ भएकी कौशिलाको लास गेटमा पुर्याउदा मात्र अस्पतालले १७ गते गरेको पिसीआर जाँचको नेगेटिभ रिपोर्ट थमाएको ज्वाइँ रणपहेलीले बताए।

आफ्नो लोकप्रियताका लागि विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वल थापाको मेडिसिटी अस्पतालको खर्च आफूले ब्यहोरिदिने प्रस्ताव गरेका दुर्गा प्रसाईँले आफूहरूको गरिबी दर्साउँदा समेत कुनै छुट नदिएको परियार परिवारको गुनासो छ।