धरान : धरान-१२ चतरालाईमा रहेको धरान मेघा कलेजका बिबिएस प्रथम वर्षमा अध्ययनरत बिद्यार्थीहरुले आर्थिक सङ्कलन गरेर छाताचोक मा रहेको पुनर्स्थापना गृहलाई बिहीबार खाद्यान्न सामग्री वितरण गरेका छन्।

बिद्यार्थीहरुले केन्द्रका सञ्चालक भीम बहादुर राईलाई १ सय २५ किलो चामल, ५ किलो दाल, १ कार्टुन तेल, ४ किलो नुन, ५ किलो न्युटेला र १ कार्टुन बिस्कुट गरी १२ हजार ७५ रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरे।

यस अघि कलेजमा सचेत नागरिक समूह धरान-१७ र धरान मानव कल्याण समाजलाई क्रमशः ५/५ हजार हस्तान्तरण गरिएको छात्रा सपना राईले जानकारी दिइन।

सचेत नागरिक समूहले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा रहेका बिमारीका कुरुवाहरूलाई खाना खुवाउँदै आइरहेको छ।त्यस्तै धरान मानव कल्याण समाजले सडक मानव र सडक बालबालिकाहरूलाई खाना खुवाउँदै आइरहेको छ।

यो महामारीको समयमा बिद्यार्थीहरुको पनि सामाजिक दायित्व हुन्छ भन्ने कुरालाई मनन गरी साथीहरूका घर घरमा गएर अभिभावकलाई भेटी आर्थिक सङ्कलन गरेर सहयोग गरेको छात्रा सपना राईले बताइन।

बिद्यार्थीहरुले स्वतःस्फूर्त रूपमा आर्थिक सङ्कलन गरेर महामारीको समयमा सहयोग गर्छौ भने पछि कलेजले समन्वय गरेर हौसला दिएको कलेजका संयोजक चन्द्र वनेमले जानकारी दिए। बिद्यार्थीहरुको सहयोग गर्ने सोचलाई सम्मान गर्दै हामीले समन्वय गर्‍यौ शैक्षिक निर्देशक अर्जुन घिमिरेले भने।

हस्तान्तरण कार्यक्रम पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी सम्पन्न गरिएको शैक्षिक निर्देशक घिमिरेले जानकारी दिए। हस्तान्तरण कार्यक्रममा धरान मेघा कलेजका प्रिन्सिपल भास्कर पौडेल र आईडियल बोर्डिङ स्कुलका प्रिन्सिपल सागर खड्काको उपस्थिति रहेको थियो।