इटहरी : सेकेन्डरी बोर्डिङ स्कुलका पूर्व विद्यार्थीको समूहले इटहरी अस्पताललाई भेन्टिलेटर सहित गुणस्तरीय स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । विभिन्न क्षेत्रमा स्थापित पूर्व बिद्यार्थीहरुले इटहरीको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने हेतुले सहयोग गरेका हुन् ।

करिब २ लाख जनसङ्ख्या भएको इटहरीमा गुणस्तरीय स्वास्थ्य सेवा नभएको अवस्थामा पूर्व विद्यार्थीले स्वास्थ्य उपकरण सहयोग गरेका हुन । कोरोना महामारी नियन्त्रण र आगामी दिनमा स्वास्थ्य क्षेत्रमा गुणस्तरीयता वृद्धि गर्ने उद्देश्यले सामग्री प्रदान गरिएको पूर्व विद्यार्थी डाक्टर बेन लिम्बुले जानकारी दिए । आफ्नो क्षेत्रमा केही योगदान पुगोस् र स्थानीय जनतालेपनि सेवा पाउन भन्नको लागी उपकरण सहयोग उनले बताए ।

जसमा १ थान भेन्टिलेटर, १० सेट थर्मल गन, ९ सेट अक्सीमिटर, ९ थान मेडिकल स्ट्रेचर, २५ सेट पिपिई, एन ९५ मास्क सय थान, थ्री लेयर्स फेस मास्क १२५० थान छन् ।

बुधवार इटहरी अस्पतालमा एक कार्यक्रमको आयोजना गरी सामग्री प्रदान गरिएको हो । सामग्री हस्तान्तरण गरेपछि बोल्दै डाक्टर लिम्बुले इटहरी अस्पतालको स्तरोन्नति आफूहरूको पनि जिम्मेवारी भएकाले सहयोग गरिएको बताए ।

हाल उपलब्ध गराइएका सामाग्री उच्च गुणस्तरको भएकाले लामो समयसम्म प्रयोगमा ल्याउन सकिने उनको भनाई थियो । तिलगंगा आँखा अस्पतालका वरिष्ठ सर्जन समेत रहेका उनले इटहरीमा बालबालिकाको आँखा जाँच गर्ने नयाँ कार्यक्रम ल्याउने तयारी थालेका छन् ।

इटहरी उपमहानगरपालिकाका मेयर द्धवारीकलाल चौधरीले यो सहयोगले आफूहरूमा हौसला मिलेको बताए। स्थानीय तह आएपछि धेरै सुधार भएको इटहरी अस्पतालमा यस्ता सहयोगले झनै टेवा पुर्‍याएको उनको भनाई थियो ।

कार्यक्रममा पूर्व बिद्यार्थीहरु डाक्टर सञ्जय राठी, अनुरोध थापा, सुमित थापा, रन्जन आझा, राजु थापा लगायतको उपस्थिति रहेको थियो । यो सहयोगलाई थप संस्थागत गर्दै आगामी दिनमा नयाँ कार्यक्रम ल्याउने बारे आफूहरू प्रतिबद्ध रहेको उनीहरूले बताए ।

itahari-aspatal