धरान : धरान-१७ को सर्दु खोलामा नदीजन्य सामाग्री उत्खनन रोक्न पुगेका हर्क साम्पाङ पक्षका ५ जना मध्ये २ जनाको म्याद थप भएको छ ।

धरान उपमहानगरपालिकाले ठेक्का लगाएको खोला उत्खनन रोक्न पुगेको बेलामा ठेकेदार पक्ष र हर्क साम्पाङ नेतृत्वको टोली बिच झडप भएको थियो । सोही क्रममा पक्राउ परेका गीता राई, सोमला राई, मिलन राई, राजेश राई र क्षितिज थापालाई जिल्ला प्रहरी कार्यालय इनरुवा पठाइएको थियो ।

पक्राउ परेका ५ जनलाई नै अभद्र व्यवहारको मुद्दा दर्ता भएको हो । तर, मिलन र राजेशलाई मात्र प्रहरी हिरासतमा राखिएको छ । गीता र सोमलालाई कोभिडको पूर्व बिरामी भन्दै हाजिर जमानीमा छाडिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार क्षितिज, गीता र सोमलाको पहिलो चरण र दोस्रो चरणमा सङ्क्रमित भएको कुनै अभिलेख नभएको बताए । क्षितिजले प्रहरीलाई आफू पहिला कोरोना सङ्क्रमित भएको र अहिले ग्राहो भएको बताएका थिए ।

धरानका मेयर तिलक राई, माओवादीका नेता अइन्द्र विक्रम वेघा, जसपा धरान नगर अध्यक्ष ताजुब लिम्बु लगायतको संयुक्त टोली हर्कको मान्छे हैन क्षितिज भन्दै सिफारिस गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कमल थापालाई आग्रह गर्न पुगेका थिए । यसबारेमा मेयर तिलक राईले आफु कही नगएको दाबी गरेका छन भने ताजुब लिम्वुले भने आफुहरु इनरुवा गएको बताएका छन् । 

सरकारी वकिल कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय सम्म पुगेर क्षितिजलाई छोड्न आग्रह गरेको र धरानका राजनीति दलमा पनि छलफल भएको थियो । यसबारेमा मेयरले आफू कतै नगएको बताएका थिए । एसपी थापाले मेयरको टोली आएको दाबी गरेका छन् ।

हर्कले फेसबुकमा अब धरान खुल्ला गरौँ है मित्र हो ! लक डाउन मानेर नबसौँ ! चोरहरूले हदै गरे ! सबैलाई एकजुट हुन आह्वान गर्दछु ! भनेर लेखेपछि क्षितिजले जिल्ला प्रशासन कार्यालयले जारी गरेको लकडाउनको उलङ्घन गरी मास्क नलगाएर हिँडे पछि इलाका प्रहरी कार्यालय धरानले उनलाई १ सय जरिवाना समेत गराएको धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

खोला उत्खनन रोक्न पुगेका हर्क साम्पाङको टोलीले स्काभेटरका चालकलाई चाबी खोसेर आगो लगाइदिन्छु भनेर कुटपिट गर्न थाले पछि झडप सुरु भएको बताइएको छ । स्काभेटरको चालक माथि हातपात भए पछि मजदुरहरूको समूहले साम्पाङ पक्षकालाई हातपात गरेका थिए ।

सो क्रममा केही व्यक्ति घाइते भएका थिए । साम्पाङ पक्षका राजेश राई अलि बढी घाइते भएका थिए । साम्पाङ पक्षका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि २ जनालाई सामान्य सोधपुछ पछि छाडेको थियो ।

यस भन्दा अघि देखि प्रहरीको खोजीको सुचीमा रहेका हर्क साम्पाङ भने अझै फरार भएको प्रहरीले जनाएको छ । उनी सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रियका साथ विभिन्न स्ट्याटस लेख्दै आएका छन् भने उनको मोबाइल स्विच अफ रहेको छ । उनी सँग यस विषयमा कुरा गर्न खोज्दा उनको फोन अफ नै थियो । तर, हर्कले 'मेरो भनाई खै?' समाचारमा पनि भन्दै कमेन्ट गर्ने गरेका छन् ।

एसपी कमल थापाले हर्कले अभियन्ता भनेर प्रशासनलाई च्यालेन्ज दिँदै गुन्डागर्दीशालीमा अराजक कार्य गर्दै आएकाले २ वटा मुद्दा दर्ता भएको बताए । प्रहरीले उनलाई खोजी रहेको र पक्राउ पर्न साथ कारबाही हुने उनले बताएका छन्।

Jilla-Prahari-kareyalaya