चतरा : इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जङ्गलबाट मारेर ल्याएको अवैध हरिणको मासु र तीन नाल भरुवा बन्दुक सहित बराहक्षेत्र नगरपालिका-२ चतराको रेल्वे लाइनबाट दुई जनालाई पक्राउ गरेको छ।

शुक्रवार बिहानै जङ्गलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको सूचनाको आधारमा महेन्द्रनगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वको टोलीले अवैध हतियार, हरिणको मासु सहित दुई जनालाई पक्राउ गरेको हो।

शुक्रवार बिहानै प्रहरीलाई जङ्गलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरीले बराहक्षेत्र २ रेललाइन स्थित नीरज घिमिरेको घरमा काटेको १२ किलो हरिणको मासु १२ किलो, हरिणको सिङ्ग, टाउको सहित घरमै लुकाइ राखेको ३ नाल भरुवा बन्दुक, बारुद १०० ग्राम र खुकुरी सहित सोही स्थान बस्ने २५ वर्षका एसुब राना मगर र २५ वर्षीय सागर मगरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेको हरिणको मासुलाई प्रहरी, इलाका सब डिभिजन वन कार्यालय नडाहका कर्मचारी तथा पत्रकारहरूको उपस्थितिमा खाल्डो खनेर पुरेर नष्ट गरिएको छ।