यासोक : पाँचथरको कुम्मायक गाउँपालिका २ माङजाबुङ घर भई हाल दक्षिण कोरियामा काम गर्दै आएका गजेन्द्र सेर्माले वडावासीलाई व्यक्तिगत लगानीमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । उनले नेपाली २ लाख १६ हजार मूल्य बराबरको अक्सिजन, मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सामाग्री सहयोग गरेका हुन।

रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका उनले व्यक्तिगत २ लाख १६ हजार मूल्यको स्वास्थ्य चौकी माङजाबुङलाई ४३ केजीको ६ वटा अक्सिजन सिलिन्डर त्यस्तै प्रत्येक घरघरमा वितरण गर्नको लागि ८ हजार ५ सय थान मास्क, ८ सय ५० थान स्यानिटाइजर सहयोग गरेका हुन । उनका दाजु घनेन्द्रकुमार सेर्माले वडा अध्यक्ष बालकृष्ण सेर्मालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

वडामा ८ सय १५ घरधुरीमा ४ हजार जनसङ्ख्याको बसोबास छ । भौगोलिक रूपमा दुर्गम क्षेत्रको वडामा कोभिड सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन र नागरिकलाई महामारीबाट सुरक्षित गर्न सहयोग गरिएको गजेन्द्रका दाजु घनेन्द्रकुमार सेर्माले बताए । महामारीको समयमा कोभिडले ठुलो क्षति पुर्‍याएको पीडा सम्झेर भाइले वडावासीलाई त्यस्तो पीडा नहोस् भन्दै सामाजिक दायित्व पूरा गर्न सहयोग गरेको सेर्माले बताए।

वडामा प्राप्त भएको स्वास्थ्य सामाग्री वडा सदस्यको रोहवरमा साबिक ९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविका मार्फत वितरण गर्न थालिएको वडा अध्यक्ष बालकृष्ण सेर्माले बताए । “हामीले वडामा प्राप्त भएको स्वास्थ्य सामाग्री स्वयमसेवीकाहरुलाई वितरणको लागि खटाएका छौ ।

उनले भने 'सम्भव भएसम्म घर घरमा, नभए पनि टोल विभाजन गरी सामाजिक दरी कायम गरी वितरण गर्ने गरी व्यवस्थापन मिलाएका छौ।'

yasok-news