इटहरी : कोसी राजमार्गको ६ लेन सडक बिस्तारको क्रममा ढल निकासको लागी कल्भर्ट साँघुरो बनाउँदा इटहरीमा डुबानको खतरा बढेको छ ।

बर्सेनि बाढी र डुबानले आक्रान्त इटहरी बजारमा निकासको व्यवस्था नहुँदा यस पटक झनै समस्या बढ्ने देखिएको हो ।

६ लेन सडक बिस्तारको क्रममा इटहरी चोकको धरान लाइन क्रस गर्ने ठाउँमा साँघुरो कल्भर्ट निर्माण हुँदा समस्या बढ्ने भएको छ । इटहरी–४ र ६ नम्बर वडाको पानी निकास हुँदै आएको कल्भर्ट सडक बिस्तारको क्रममा खुम्चिएको हो ।

बर्खाको समयमा कल्भर्ट थुनिएर इटहरी डुबान हुने खतरा बढेको भन्दै स्थानीयले सङ्घर्ष समातिनै बनाएर विरोध जनाइरहेका छन् । इटहरी–४ निवासी ज्ञानेन्द्र दाहालको नेतृत्वमा बनेको समितिले शुक्रवार पत्रकार सम्मेलन गरी स्थानीय सरकारले समस्या समाधानको लागी पहल गर्नुपर्ने माग गरेको छ ।

संयोजक दाहालका अनुसार हाल मौजुदा पाइपले इटहरी बजारको पानीको बहाव थेग्न नसक्ने भएकाले समस्याको दीर्घकालीन समाधान खोजिनुपर्ने बताए । राष्ट्रिय गौरवको आयोजना मानिएको रानी–धरान ६ लेन सडकमा गैर जिम्मेवारी पूर्वक लापरबाही गरिएको उनको भनाई छ ।

स्थानीय युवा तथा सोही समितिका सदस्य राजु केसीले आफूहरूले बारम्बार जानकारी गराउँदा समेत बेवास्ता गरेको बताए । उपमहानगरपालिकामा पुगेर ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको उनको भनाई छ । २०२४ साल देखी नक्सामा कायम रहेको पैनीको अस्तित्व सिध्याउने काम भएको उनको दाबी छ ।

पछिल्लो समय इटहरी उपमहानगरपालिकाका मेयर द्धवारीकलाल चौधरी, ४ र ६ नम्बर वडाका वडाध्यक्षलाई समेत ध्यानाकर्षण पत्र समितिले बुझाएको छ । भेटमा जनप्रतिनिधिले समस्या समाधानमा प्रतिबद्ध रहेकाले दीर्घकालीन बाटो खोज्ने प्रतिबद्धता जनाएको केसीले जानकारी दिए ।

त्यस लगत्तै उपमहानगरपालिकाले परियोजनालाई पत्र पठाएको छ । स्थानीयबाट गुनासो आएकाले सोही बमोजिम कार्य गर्न अनुरोध सहितको पत्र मेयर चौधरीले पठाएका हुन् ।

सोही दिन रानी–विराटनगर–इटहरी–धरान सडक परियोजनाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको उनले बताए । असार १ गते सम्म सुधारको लागी पहल नभए आन्दोलन गर्ने केसीले चेतावनी दिएका छन् ।

उता परियोजना प्रमुख बद्री प्रसाद शर्माले भने पहिलाको भन्दा ठुलो ह्युम पाइप राखेर निकास खुल्ला गरेको बताएका छन् । “काम सुरु हुँदाको अवस्थामा गुनासो आएको भए तत्काल समस्या समाधान गर्न सहज हुने थियो ।,”

उनले भने, “स्थानीयको माग पनि जायजै छ । तर ढिलो आएपछि काम अगाडी बढिसकेको अवस्था छ । अब निमार्ण व्यवसायीसँगको छलफल पछि सक्दो सुधार गर्ने प्रयत्न गर्छौ ।”

Sangharsa-samiti