धरान : सुनसरीमा निषेधाज्ञा केही खुकुलो भए पछि सशस्त्र प्रहरी बल सुनसरीले पनि सीमा क्षेत्रमा थप सक्रियता बढाएको छ ।

निषेधाज्ञा केही खुकुलो भए पछि आवत जावत बढ्न थालेपछि विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सशस्त्र प्रहरीले मुलुकभर सीमा क्षेत्रमा थप सक्रियता बढाएको हो ।

बर्खा याममा बस्ने तथा ओत लाग्ने राम्रो व्यवस्था नभए पनि सशस्त्र प्रहरी १ जनाले १ दिनमा लगातार १२ देखि १६ घण्टासम्म खटिइरहेका छन् । ड्युटी सकेपछि अन्य सशस्त्र प्रहरीले पनि लगातार दिनरात सीमा सुरक्षामा खटिरहेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह सोनयाही नाका पूर्ण रूपमा सिल गरिएको छ । सिल गरिए पनि मानिसहरू भारत बाट नेपाल र नेपाल बाट भारत जान दिनको लागि आउने गरेका छन् । उनीहरूलाई सम्झाइ बुझाइ गरी जहाँ बाट आएका हुन् उतै फर्काउने गरेको सशस्त्र प्रहरी निरीक्षक महेश विक्रम केसीले बताए ।

APF

गत वर्ष मङ्सिर २५ गते भारतसँग जोडिएको सुनसरीको भोक्राहा नरसिंह उल्टीमा सशस्त्र प्रहरीले नेपाल बोर्डर आउट पोस्ट बीओपी स्थापना गरेको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट उल्टीका प्रहरी निरीक्षक केसीको कमान्डमा ४० जना सशस्त्र प्रहरी खटाउँदै आएको छ भने प्रत्येक एक एक किलोमिटरमा ३ देखि ४ जना सम्म सशस्त्र प्रहरी राख्ने योजना छ । सुनसरीको सीमावर्ती क्षेत्रमा मात्र यस्ता अस्थायी पोस्ट करिब २५ वटा छन् ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बिजुली नभएको स्थानमा टर्च लाइटको भरमा गस्ती गरिरहेका छन् । एक जनाले अर्को ड्युटीमा रहेको साथीलाई देख्ने दूरीमा बसेर पहरा दिने गरेका छन् । यसै गरी सुनसरीको सीमावर्ती क्षेत्र भारतको विहार राज्य सँगै टासिंएको ६१.९ किलोमिटर सीमामा ९ वटा मात्र सुरक्षा वेशको निर्माण गरेको छ ।

केसीले २४ सै घण्टा सतर्क रहेको बताउँदै उनले भने–सीमावर्ती क्षेत्रमा निगरानी गर्दै, निषेधाज्ञाको पूर्ण रूपमा पालना गराउँदै, स्थानीय बासीलाई सहज र चेतनामूलक कार्यक्रम गरेर जनतालाई जोखिमबाट मुक्त राख्न स्थानीयको साथ सहयोगमा राम्रो कार्य गर्दै आएका छौ ।

सुनसरीको ६१.९ किलोमिटर सीमा क्षेत्रमा ६४० जना भन्दा बढी सशस्त्र प्रहरी खटाइएको छ । भोक्राहा सशस्त्र प्रहरीलाई गाडीको व्यवस्था नभएपछि सीमा क्षेत्रमा पैदल र मोबाइल फोन गस्ती बढाइएको छ । सिमानामा प्रहरी तैनाथ भएपछि वारिपारिबाट मानिस आउजाउ ठप्प भएको छ ।

सुनसरीको भोक्राहा सशस्त्र प्रहरीले भोक्राहाको पिलर नम्बर १९५/२ WP ३९ देखि भोक्राहाको पिलर नम्बर १९७ PP ९ सम्म सीमा क्षेत्रमा नेपाल बोर्डर आउट पोस्ट उल्टीलाई विस्तार र अस्थायी पोस्ट खडा गरेर अवैध आवागमन रोकथाम तथा नियन्त्रणका लागि निगरानी गर्दै आएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ मा पर्ने उल्टीको सुनसान ठाउँमा पाल टाँगिएको छ । पालभित्र खाट छ, जहाँ सशस्त्र प्रहरीहरू बसिरहेका हुन्छन् । खाटसहितको पाललाई अस्थायी पोस्ट भन्ने गरिन्छ ।

नेपाल–भारत सीमामा दशगजा र पिलरलाई सिमाना मानेर दुवै मुलुकका सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् ।
अस्थायी पोस्टमा खटिएका सशस्त्र प्रहरीलाई दिउँसो गस्ती गरेर रात बिताउन निकै समस्या छ । उनीहरू शौच गर्न समस्या छ । उनीहरू प्लास्टिक र खरको छाप्रोमा बसेर सीमा निगरानी गरिरहेका छन् । बस्ने, ओत लाग्ने राम्रो व्यवस्था नभए पनि उनीहरू दिनमा लगातार १२ देखि १६ घण्टासम्म निगरानीमा खटिइरहेका छन् ।

सुनसरीमा चोर नाका प्रयोग गरेर आउनेलाई रोक्न भण्टावारी, लौकही, भोक्राहा , वसन्तपुर, घुस्की, देवानगंज, साहेबगंज, अमडुवा र भित्री बाटोमा सशस्त्र प्रहरीले निगरानी गरिरहेका सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।

APF-1