धरान : उदयपुरको ताप्ली गाउँपालिका ४ पोखरी स्थितको कच्ची सडकमा शनिवार बेलुका साढे ७ बजे बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

सिराहाको लहानबाट लखनडाँडा तर्फ मिलको मेशिन बोकेर जाँदै गरेको बा १८ च १५६७ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा बलेरोमा सवार ४ जना मध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परि अरु ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका–१० का ६० वर्षीय इन्द्र बहादुर बि.क. रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका–१० का बोलेरो चालक ३५ वर्षीय डाँक नारायण श्रेष्ठ, उदयपुर ताप्ली गाउँपालिका–४ ठानागाँउ ज्यामिरे का ३० वर्षीय झगर बहादुर सार्की र सोही स्थानका २६ वर्षीय डम्बर बहादुर तामाङ घाइते भएका छन् ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट प्रहरी टोली खटि गई घाइतेहरू मध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाएको छ भने अर्का घाइते तामाङको सामान्य हात खुट्टामा चोट लागेकोले सामान्य उपचार पश्चात् घरमानै रहेका छन् ।

दुर्घटनामा परि मृत्यु भएका बि.क.को शव घटनास्थलमानै रहेकोले कानुनी प्रक्रिया पुरा गर्नको लागी इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गएको छ ।