विराटनगर : प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको छ ।

युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा कन्सनट्रेटर रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए ।

यस्तै युएसएआडीको सुआहारा परियोजनाबाट पिपिई सेट १०० थान, सर्किजल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाईजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको शाहले बताए ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री राईले कोरोना सङ्क्रमण नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताए । सबै पक्षको सहयोगमा कोरोना सङ्क्रमण नियन्त्रण गर्न सकिने मन्त्री राईले बताए । सहयोगी संस्थाहरूलाई आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरे ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा युएनडिपीका धनबहादुर चन्द, युएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतम लगायतको सहभागिता रहेको थियो ।

Hastantaran-1