फिदिम : पाँचथरको फिदिम नगरपालिका-४ का ८० वर्षीय एक वृद्धको हत्या भएको छ।

जोरसाल बजार नजिकैको कुमालटारमा बसोबास गर्दै आएका टेकबहादुर इङ्वाको गएराती धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। उनको टाउको र शरीरमा गम्भीर चोट देखिएको छ। उक्त घरमा टेकबहादुर र उनकी ८४ वर्षीय श्रीमती कालिमाया मात्रै बस्ने गर्थे।

टेकबहादुर सेवानिबृत्त भारतीय सेना हुन्। आइतबार बिहान बाबु आमालाई भेट्न भनेर आउँदा बाबुको हत्या भएको थाहा पाएको कान्छी बुहारी रिता इङ्वाले जानकारी दिइन्।

टेकबहादुरका दुई छोरा र तीन छोरी छन्। छोरा बुहारी फिदिम-२ मा बस्दै आएका छन्। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।