धरान : गोर्खा सेमेट्री ट्रस्ट हङकङले नेपाल सरकारलाई पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको छ ।

भेन्टिलेटर अभाव भइरहेको बेला ट्रस्टले आर्थिक संकलन गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । सरकारलाई हस्तान्तरण गर्नासाथ गोर्खा सेमेट्रि ट्रस्ट नेपालले ती भेन्टिलेटरहरु आवश्यक ठहर गरिएका नेपालका विभिन्न अस्पतालहरूमा दुई दिनदेखि आफै वितरण गर्न थालेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का निर्देशक समेत रहेका नेपालस्थित गोर्खा सिमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राई हङकङस्थित ट्रस्टबाट प्राप्त भएका भेन्टिलेटर वितरण गर्न आफै नेपालको पश्चिम क्षेत्रमा पुगेको बताए ।

उनले भने, ‘सरकारलाई हस्तान्तरण भइसकेपछि भेन्टिलेटरको अति आवश्यक परेको अस्पतालहरू पहिचान गरेर वितरण गर्दै छौँ ।’

उनकाअनुसार शनिवारसम्ममा ५० थान मध्ये पोखराको प्रादेशिक अस्पताललाई ५ थान, म्याग्दीको सामुदायिक अस्पताललाई २ थान, बागलुङ अस्पताललाई २ थान, लुम्बिनी प्रादेशिक अस्पताल र दाङको बेलझुण्डी अस्पताललाई चार-चार थान वितरण भइसकेको छ । एनेस्थेसिया विभाग र जनशक्ति नभएका अस्पतालमा भने भेन्टिलेटर उपलब्ध नगराएको उनले बताए । उनले पूर्वका विभिन्न अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि पोर्टेवल भेन्टिलेटर दिने तयारी भइरहेको बताए ।

Gurkha-Cemestry-Trust-2

हङकङस्थित सरकारी विद्यालयका शिक्षक समेत रहेका ट्रस्टका कार्यकारी सदस्य देवराज राईले पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर नेपाल सरकारलाई पठाएर वितरण भइरहेको बताए ।

ट्रस्टले नेपालका कोरोना सङ्क्रमितहरूका लागि हङकङमा रहेर अन्तर्राष्ट्रिय समुदाय र गैर सरकारी सङ्घसंस्था, विश्व भरी छरिएर बसेका नेपाली दातासँग सहयोगको आव्हान गरेको थियो । उनका अनुुार हङकङस्थित ट्रस्टले पहिलो चरणमा १७ हजार अमेरिकी डलरको पोर्टेवल भेन्टिलेटर खरिद गरेर नेपाल पठाएको हो ।

उनले भने, ‘हामीले सुरुमा १५ वटा सम्म भेन्टिलेटर संकलन गरेर नेपाल पठाउन सकिन्छ होला भन्ठानेका थियौँ, तर दाताहरूले विश्वास गरेर हालसम्ममा ३ लाख २० हजार हङकङ डलर दिएका छन् ।

उक्त रकमलाई नेपालको कोरोना सङ्क्रमित गम्भीर बिरामी बचाउनका लागि प्रयोग गर्ने छौँ । कतिपय दाताहरूले अझै पनि रकम र भेन्टिलेटर नै दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ट्रस्टले पारदर्शीरुपमा उहाँहरूबाट पनि आर्थिक र जिन्सी संकलन भइरहेको जनाएको छ ।’

ट्रस्टका सचिव आमोद राईले पहिलो चरणमा पठाएका अधिकांश भेन्टिलेटर काठमाडौँ, पोखरा, दाङ लगायतका नेपालको पश्चिमी क्षेत्रमा वितरण भइरहेको बताए । उनले भने, ‘जहाँ बढी अभाव देखिएको छ त्यहाँ पहिले वितरण गर्ने क्रम जारी छ ।’

आमोद पनि हङकङमै शिक्षण पेसामा आबद्ध भएर ट्रस्ट मार्फत अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सिधा सम्पर्क र समन्वय गरेर नेपालका कोरोना संक्रमितको उपचारका लागि आवश्यक मेडिकल उपकरणको सहयोग जुटाउन व्यस्त छन् ।

नेपालका कोरोना सङ्क्रमितहरूका लागि आवश्यक आर्थिक र मेडिकल उपकरण जुटाउन गोर्खा सिमेट्री ट्रस्ट हङकङका अध्यक्ष रत्न खिम्दीङ, युवा अभियन्ताहरू युकेस राई र सजंय राई पनि अहोरात्र जुटिरहेका छन् ।

ट्रस्टका हङकङ अध्यक्ष रत्न खिम्दिङले भने, ‘विदेशमा बसेका नेपालीहरूले अहिले आफ्नो मातृभूमिलाई परेको कोरोना सङ्कटको बेला तन मन र धन दिएर सहयोग नगरे कहिले गर्ने ? देशको सेवा गर्ने अवसर पनि हो यो ।

हामीले गरेको सानो सहयोगले कसैको ज्यान बचाउन सकिन्छ भने त्यो भन्दा ठुलो सेवा अरू के हुन सक्छ भनेर गोर्खा सेमेट्रि ट्रस्ट लागिपरेका छ ।’ ट्रस्टले पहिलो र दोस्रो विश्वयुद्धमा सहभागी भएर विभिन्न मुलुकमा वीरगति प्राप्त गर्ने गोर्खाहरूको संरक्षित चिहान, नामावली संकलन गरेर प्रत्येक वर्ष पुर्खा दिवस समेत मनाउँदै आएको छ भने हङकङमा गोर्खा ट्रेल रेस आयोजना गरेर सङ्कलित रकम नेपालका बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको छ ।

Gurkha-Cemestry-Trust-3